काठमाडौं । नेपाल टेलिकमले मनसुन ‘अफर २०८३’ सार्वजनिक गरेको छ । कम्पनीले पोस्टपेड र प्रिपेड मोबाइल सेवाका ग्राहकका लागि नयाँ डाटा, भ्वाइस र एसएमएस प्याकेज ल्याएको हो ।
पोस्टपेड ग्राहकका लागि ३७३ रुपैयाँ र ४९९ रुपैयाँका नयाँ ३० दिने प्याक उपलब्ध गराइएको छ । यी प्याकमा डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने मिनेट र एसएमएस सुविधा समावेश छन् ।
यसैगरी, ६९९ रुपैयाँदेखि १,९९९ रुपैयाँसम्मका पोस्टपेड सजिलो अनलिमिटेड प्याकलाई पनि थप सुविधासहित परिमार्जन गरिएको छ । यी प्याकमा धेरै डाटा, अनलिमिटेड भ्वाइस कल र बढी एसएमएस उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रिपेड ग्राहकका लागि पनि ९९ रुपैयाँमा १ दिनका लागि ८ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनका लागि २० जीबी डाटाको नयाँ प्याक ल्याइएको छ । साथै, ९९९ रुपैयाँ र १,४९९ रुपैयाँका सजिलो अनलिमिटेड प्रिपेड प्याकमा पनि थप डाटा र एसएमएस सुविधा दिइएको छ ।
नेपाल टेलिकमले स्वतः नवीकरण हुने नमस्ते रिकरिङ सेवाअन्तर्गत ६९९ रुपैयाँको नयाँ प्याक पनि सञ्चालनमा ल्याएको छ । कर्पोरेट युजर ग्रुप (सीयूजी) का लागि पनि नयाँ प्याकेज उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, नमस्ते क्रेडिट (सापटी) सेवामा पनि परिवर्तन गरिएको छ । साउन १५ गतेदेखि सापटी रकम ३० रुपैयाँ हुनेछ । यो रकमबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका डाटा, भ्वाइस वा एसएमएस प्याक खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार अन्य सबै भ्वाइस, डाटा, बन्डल्ड, एड–अन, एसएमएस तथा एफटीटीएच प्याकेजहरू भने पहिलेझैँ सञ्चालनमा रहनेछन् ।
मनसुन अफर २०८३ साउन १२ गतेदेखि लागू भइसकेको छ । ग्राहकले मोबाइलबाट डायल गरी, नेपाल टेलिकम एप वा कम्पनीको वेबसाइटमार्फत प्याकेजको जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया