काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै अस्पताललाई स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन निर्देशन दिएको छ ।
मन्त्रालयले दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढिरहेको जनाउँदै उपचार सेवा नियमित सञ्चालन गर्न आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाइएको छ ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं ल्याउने व्यवस्था मिलाएकी थिइन् । उनले ट्रमा सेन्टर पुगेर चिकित्सक रामको स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिएकी थिइन् ।
मन्त्री मेहताले दोषीमाथि कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा प्रभावित हुन नदिन पहल भइरहेको बताएकी छन् ।
मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने स्पष्ट पारेको छ । साथै, स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै उपचार सेवा निरन्तर सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको छ ।
मन्त्रालयले नागरिकको उपचार सेवामा अवरोध नगरी स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र सम्बन्धित सबै पक्षलाई सहयोग गर्न अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया