दुई मन्त्रीको निरीक्षणपछि पनि कोदारी राजमार्ग खुल्ने टुंगो छैन

लोकपथ
14
Shares

काठमाडौं । विगत ११ दिनदेखि अवरुद्ध रहेको कोदारी राजमार्ग सञ्चालनमा ल्याउने प्रयासलाई तीव्र पार्दै सरकारको उच्चस्तरीय टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले साउन १० गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत डाक्लाङ र कोदारी इको क्षेत्रमा पुगेर पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको हो ।

सरकारले राजमार्ग शीघ्र सञ्चालनमा ल्याउने र पहिरोको जोखिममा परेका स्थानीय बस्तीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित निरीक्षण गरे पनि स्थानीयवासीले आफ्नो घर तथा बस्तीको सुरक्षाको ग्यारेन्टी नभएसम्म काम अघि बढाउन नदिने अडान दोहोर्‍याएका छन् । पहिरोका कारण बस्ती नै उच्च जोखिममा परेको भन्दै उनीहरूले दीर्घकालीन समाधानको माग गरेका छन् ।

स्थानीयसँग छलफलका क्रममा मन्त्री लम्सालले सरकारले आवश्यक परे बस्ती स्थानान्तरणदेखि भौतिक सम्पत्तिको सुरक्षासम्मको जिम्मेवारी लिने प्रतिबद्धता जनाए । उनले सरकार समस्याको समाधानका लागि सकारात्मक ढंगले अघि बढिरहेको बताउँदै सबै पक्षसँग समन्वय गरेर काम गरिने विश्वास व्यक्त गरे ।

सडक विभागका महानिर्देशक डा। विजय जैसीले डाक्लाङ क्षेत्रमा रहेका तीनवटा ठूला पहिरोमध्ये पहिलो पहिरो नियन्त्रणको काम सुरु भइसकेको जानकारी दिए। दोस्रो र तेस्रो पहिरो व्यवस्थापनमा प्रक्रियागत ढिलाइ भए पनि अब कामलाई तीव्रता दिइने उनले बताए ।

उनका अनुसार स्थानीयको चिन्ता सम्बोधन गर्न विशेषज्ञ टोली परिचालन गरिएको छ । जमिनभित्र जमेको पानीलाई पाइपमार्फत सुरक्षित रूपमा बाहिर निकाल्ने प्रविधि प्रयोग गरिनेछ भने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै निर्माण कार्य अघि बढाइनेछ ।

महानिर्देशक जैसीले डाक्लाङ र कोदारीबाट दुई–दुई जना स्थानीय प्रतिनिधि तोक्न आग्रह गर्दै उनीहरूको सहभागितामा काम अघि बढाइने बताए ।

चिनियाँ पक्षको सहयोगमा दीर्घकालीन समाधानका लागि बलियो संरचनात्मक डिजाइन तयार भइसकेको र नदीको सतहबाट पाइल हालेर पर्खाल निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए । यसका लागि डेढ अर्ब रुपैयाँभन्दा बढी लागतको ठेक्का सम्झौता भइसकेको पनि उनले बताए ।

निरीक्षण टोलीमा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापा, पूर्वाधार सचिव गोपाल सिग्देल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सडक विभागका इन्जिनियरहरूको सहभागिता रहेको थियो ।

नेपाल–चीन अन्तर्राष्ट्रिय व्यापारिक नाकासमेत रहेको कोदारी राजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले प्राथमिकता दिएको भए पनि स्थानीयको असहमति र जटिल भौगोलिक अवस्थाका कारण राजमार्ग पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउने भन्ने विषय अझै अनिश्चित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?