चितवन । काठमाडौं उपत्यकामा एलपी ग्यासको माग बढेपछि चितवनसहित आसपासका जिल्लाका ग्यास उद्योगले उत्पादन बढाएर उपत्यकामा सिलिन्डर पठाउन थालेका छन् ।
चितवन, नवलपरासी पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषाका उद्योगले दैनिक करिब १४ घण्टा बोटलिङ गरी काठमाडौंमा ग्यास पठाइरहेका छन् ।
नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार चितवनका बाबा, साइबाबा र नेपाल ग्यास गण्डकी, नवलपरासी पूर्वको जानकी तथा धनुषाको नेपाल ग्यास र नारायणीले दैनिक दुई सिफ्टमा करिब १५ हजार सिलिन्डर भरिरहेका छन् ।
यी उद्योगमा रहेका २४ वटा बोटलिङ उपकरणबाट एक मिनेटमा २४ वटासम्म सिलिन्डर भर्ने गरिएको कालाखेतीले बताए ।
त्यस्तै, धनुषाको नोबेल, बाराका वान (एनएल), जगदम्बा, लियो र अम्बर ग्यास, पर्साका सुप्पर र मनोज, मकवानपुरको साहरा तथा नवलपरासीको चन्डेश्वरी ग्यासले पनि सिलिन्डर भरेर काठमाडौं पठाइरहेका छन् ।
यी उद्योगले दैनिक करिब १० हजार सिलिन्डर भर्ने गरेका छन् । त्यसमध्ये आधा स्थानीय बजारमा र बाँकी काठमाडौं उपत्यकामा पठाउने गरिएको व्यवसायीले बताएका छन् ।
कालाखेतीका अनुसार ग्यासको आपूर्ति सहज बनाउन उद्योगीले ट्रक व्यवस्थापन, बुलेटमार्फत ग्यास ल्याउने, बोटलिङ गर्ने र बजारमा पठाउने कामलाई तीव्रता दिएका छन् ।
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डरको माग हुने गरेकामा अहिले माग बढेर करिब एक लाख पुगेको व्यवसायीको भनाइ छ । माग बढेपछि उपत्यकामा आपूर्ति कायम राख्न बाहिरी जिल्लाका उद्योगबाट थप सिलिन्डर पठाउन थालिएको हो ।
बुधबार मात्रै विभिन्न उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर काठमाडौं पठाइएको थियो । दैनिक पठाइने सिलिन्डरको संख्या भने उपलब्धता र ढुवानी अवस्थाअनुसार तलमाथि हुने गरेको व्यवसायीले बताएका छन् ।
चितवनबाट भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौं ल्याइँदै छन् । तर साँघुरो सडक, अत्यधिक सवारी चाप र ठाउँ–ठाउँमा खस्ने पहिरोका कारण ढुवानीमा समस्या भइरहेको छ ।
ग्यासको माग सामान्यभन्दा धेरै बढेपछि उद्योगले उत्पादन बढाए पनि ढुवानीमा देखिएको अवरोधका कारण काठमाडौंमा आवश्यक मात्रामा सिलिन्डर पुर्याउन चुनौती थपिएको व्यवसायीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया