काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँका मुख्य सडकहरू बन्द भएका छन् । सोमबार बिहानसम्म धेरै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै रोकिएका छन् ।
बागमती प्रदेशमा सडक अवरोधको असर बढी देखिएको छ । काभ्रेको बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थली र गिम्दीबेशीमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा बाढीको जोखिमका कारण राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ ।
मकवानपुरको कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिएको छ । सिन्धुपाल्चोकको चारकिलो र कोदारी क्षेत्रमा पहिरो गएपछि अरनिको राजमार्ग बन्द भएको छ । रसुवाको खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पनि अवरुद्ध भएको छ ।
दोलखाको लामासाँघु–रामेछाप सडक बन्द भए पनि वैकल्पिक बाटोबाट सवारी चलाइएको छ । चितवनको नारायणगढ–मुग्लिन सडक भने अहिले सञ्चालनमा आएको छ ।
कोशी प्रदेशमा इलामको राजदुवालीमा पहिरो गएपछि मेची राजमार्ग बन्द भएको छ । त्यहाँ वैकल्पिक बाटोको व्यवस्था गरिएको छ। भोजपुर र खोटाङका केही स्थानमा सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।
गण्डकी प्रदेशमा म्याग्दीको बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण बन्द छ । बागलुङको कालीगण्डकी करिडोरमा भने पहिरो हटाएर एकतर्फी रूपमा सवारी चलाउन थालिएको छ ।
लुम्बिनी र कर्णाली प्रदेशका सडकहरू पनि प्रभावित भएका छन् । रोल्पाको खोलावाङमा पहिरो जाँदा घोराही–थवाङ सडक र पाल्पाको सिद्धबाबामा सिद्धार्थ राजमार्ग बन्द भएका छन् । कर्णालीको रुकुम पश्चिममा बाढीका कारण भेरी करिडोरको सडक अवरुद्ध भएको छ भने मुगुको नाग्म–गमगढी सडक पनि पहिरोका कारण बन्द छ ।
अवरुद्ध सडकहरू खुलाउने काम भइरहेको छ । सम्बन्धित निकायले जोखिम भएका सडकमा यात्रा गर्दा सावधानी अपनाउन यात्रु र चालकलाई आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया