डा.गोविन्द केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, वार्ता टोली आज धनगढी जाने

लोकपथ
35
Shares

काठमाडौं । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा विशेष चासो देखाएकी छन् ।

बिहीबारदेखि पाँचबुँदे माग राख्दै अनशनरत डा.केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग टेलिफोन संवाद गरेकी थिइन् ।

उनले उपचारको प्रभावकारी व्यवस्थापन गर्न तथा आवश्यक समन्वयलाई सुदृढ बनाउन अस्पताल प्रशासनलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रमुख सल्लाहकार डा.मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा.केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन् ।

मन्त्रालयका अनुसार चिकित्सकहरूको सुझावअनुसार डा.केसीलाई लामो समय अस्पतालमै राख्नु उपयुक्त नहुन सक्ने भएकाले आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको छ । मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गरिरहेको पनि जनाएको छ ।

अनशनरत डा.केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट आज सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ ।

यसैबीच, डा.केसीले अघि सारेका पाँचबुँदे मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?