लगानी र व्यापार विस्तारमा अवैतनिक वाणिज्यदूतलाई सक्रिय हुन मन्त्री खनालको आग्रह

लोकपथ
14
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय पहुँच विस्तार तथा आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन अवैतनिक (मानार्थ) वाणिज्यदूतहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित मानार्थ वाणिज्यदूत कोर–नेपालको १९औँ वार्षिक साधारणसभा तथा चार्टर दिवस कार्यक्रममा बोल्दै मन्त्री खनालले अवैतनिक वाणिज्यदूतहरूलाई नेपाल र सम्बन्धित मुलुकबीच सम्बन्धको सेतुका रूपमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले नेपालमा आवासीय कूटनीतिक नियोग नभएका मुलुकहरूसँग व्यापारिक, सांस्कृतिक तथा संस्थागत सम्बन्ध विस्तारमा अवैतनिक वाणिज्यदूतहरूले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपालको राष्ट्रिय प्राथमिकता र आकांक्षासँग एकाकार भएर द्विपक्षीय साझेदारी थप सुदृढ बनाउन सुझाव दिए ।

मन्त्री खनालले अवैतनिक वाणिज्यदूतहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र सहज बनाउन विद्यमान नियमावली, सुविधा तथा कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्न परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारे ।

वर्तमान सरकारको प्राथमिकता सुशासन र समावेशी आर्थिक वृद्धिमा केन्द्रित रहेको उल्लेख गर्दै उनले सरकारको पहिलो वर्ष कानुनी तथा संस्थागत सुधारमा केन्द्रित हुने बताए। भ्रष्टाचार नियन्त्रण, पारदर्शी र उत्तरदायी शासन व्यवस्था स्थापना सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।

उनले परराष्ट्र मन्त्रालय आर्थिक कूटनीति सुदृढ गर्दै लगानी आकर्षण, व्यापार विस्तार र आर्थिक साझेदारी गहिरो बनाउन सम्बन्धित निकाय र अवैतनिक वाणिज्यदूतहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

मन्त्री खनालले नेपालको परराष्ट्र नीतिले अब आर्थिक रूपान्तरण, लगानी प्रवर्द्धन, व्यापार विस्तार र नवप्रवर्तनलाई प्राथमिकता दिने उल्लेख गर्दै बदलिँदो विश्वव्यापी भू–राजनीतिक तथा प्राविधिक परिवेशमा अवैतनिक वाणिज्यदूतहरूको अनुभव र सक्रिय सहभागिता अझ महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय तथा घरेलु कानुनी व्यवस्थाको परिधिभित्र रही उच्च व्यावसायिकता, निष्ठा र जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गर्न अवैतनिक वाणिज्यदूतहरूलाई आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?