असन–इन्द्रचोकमा ‘साउने बजार’, बढ्यो चुरा पोतेको व्यापार

लोकपथ
14
Shares

काठमाडौं । सधैँजसो व्यस्त रहने असन–इन्द्रचोक बजार अहिले झन व्यस्त बनेको छ । श्रावणको सुरु भएसँगै हरियो–पहेँलो चुरापोते र मेहेन्दी किन्नेहरुको भीड लाग्न थालेको छ ।

श्रावणलाई वर्षकै पवित्र महिना मानिन्छ । हिन्दु धार्मिक मान्यताअनुसार श्रावण महिना भगवान शिवको पूजा–आरधनाका लागि विशेष महत्व राख्ने महिना हो ।

यस अवधिमा महिलाले हरियो चुरा र हरियो पहिरन लगाउँदा प्रकृतिसँगको निकटता झल्किने विश्वास गरिन्छ । साउनमा प्रकृति पनि हरियालीले ढाकिने भएकाले हरियो रंगलाई सुख, शान्ति, समृद्धि र सौभाग्यको प्रतीकका रुपमा लिने गरिन्छ ।

पछिल्ला वर्षहरुमा भने श्रावणको हरियो चुरा, पोते र मेहेन्दीको चलन धार्मिक सीमाभन्दा माथि उठेर साझा सांस्कृतिक र फेसन प्रवृत्तिका रुपमा विस्तार हुँदै गएको छ । पहिले हिन्दु विवाहित महिलामा सीमित रहेको यो परम्परा अहिले विभिन्न धर्म, समुदाय र उमेर समूहका महिला तथा युवतीहरुले पनि रहर, फेसन र सांस्कृतिक सहभागिताका रुपमा अपनाउन थालेका छन् ।

सौभाग्य र दाम्पत्य जीवनको प्रतीक मानिने पोतेको इतिहास पनि रोचक छ । इतिहासकारहरुका अनुसार यसको उत्पत्ति प्राचीन इरानी गहनासँग जोडिएको मानिन्छ । नेपालमा भित्रिएपछि भने पोतेले नेपाली संस्कृति, परम्परा र सामाजिक जीवनमा विशेष स्थान बनाउँदै आज नेपाली महिलाको सांस्कृतिक पहिचानकै अभिन्न अंगको रुप लिएको छ ।

यता, हरियो, पहेँलो चुरा र पोतेको व्यापार पनि मौसमअनुसार चल्ने व्यवसाय हो । वर्षभरि सामान्य रहने व्यापार श्रावण लागेपछि एकाएक बढ्ने गर्छ । विशेषगरी श्रावण, हरितालिका तीज र विवाहको लगनका बेला काठमाडौंको असन, इन्द्रचोकलगायतका बजारमा ग्राहकको उल्लेख्य भीड देखिन्छ । यही अवधिमा व्यापारीहरुले वर्षकै सबैभन्दा धेरै कारोबार गर्ने भएकाले यी बजारहरु विशेष रुपमा चहलपहलयुक्त बन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?