घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?

लोकपथ
7
Shares

काठमाडौं । घरजग्गा कारोबारबाट सरकारले गत असार महिनामा मात्रै रु ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार ४५४ राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो आर्थिक वर्ष २०८२/८३ को सबैभन्दा धेरै मासिक राजस्व संकलन हो ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्षभरमा सबैभन्दा धेरै राजस्व असारमै उठेको हो । त्यसअघि वैशाखमा ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ राजस्व संकलन भएको थियो, जुन वर्षकै दोस्रो उच्च मासिक संकलन हो ।

चालु आर्थिक वर्षको सुरुआतमा साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ र भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३३५ राजस्व संकलन भएको थियो। त्यसपछि असोज र कात्तिकमा कारोबार सुस्त हुँदा क्रमशः २ अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ र रु २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १९९ मात्रै राजस्व प्राप्त भएको विभागले जनाएको छ ।

मङ्सिरदेखि भने कारोबारमा क्रमिक सुधार देखिएको थियो। मङ्सिरमा रु ४ अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८३२, पुसमा रु ५ अर्ब १७ करोड ३२ लाख १४ हजार २२२, माघमा रु ५ अर्ब ९९ लाख २४ हजार ५३६ र फागुनमा रु ४ अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ राजस्व संकलन भएको थियो ।

यस्तै, चैतमा रु ६ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७, वैशाखमा रु ६ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ र जेठमा रु ५ अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ राजस्व सरकारको खातामा जम्मा भएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार असार महिनामा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेपछि राजस्व पनि उच्च भएको हो । आगामी साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमार्फत लागू हुने भएपछि कर बढ्नुअघि नै कारोबार टुंग्याउने प्रवृत्तिका कारण असारमा किनबेच उल्लेख्य रूपमा बढेको अनुमान गरिएको छ ।

विभागको तथ्यांकअनुसार कोरोना महामारी र २०७२ सालको गोरखा भूकम्पपछिको अवधिमा घरजग्गा कारोबारबाट असार महिनामा भएको यो सबैभन्दा ठूलो राजस्व संकलन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?