टोकियो, जापान । सुवास लामिछाने गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष हुन् । उनी गत वर्षको जुलाई महिनामा सन् २०२५ देखि २०२७ सम्म २ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।
सन् २००७ मा विद्यार्थी भिसामा जापान प्रवेश गरेका लामिछाने यति बेला १७ वटा रेस्टुरेन्टको मालिक, नेपाली चलचित्रका वितरक आदिका रूपमा चिनिन्छन् । सधैँ शालीन देखिने लामिछाने गैरनाफामूलक संस्था गैर आवासीय नेपाली संघ जापानको अध्यक्ष बन्नुभन्दा पहिले उनी पदाधिकारीसमेत रहिसकेका छन् । लामिछाने सन् २०२१ देखि २०२३ को कार्यकालमा प्रवक्ता, २०२३ देखि २०२५ को कार्यकालमा उपाध्यक्ष रहिसकेका छन् ।
लोकपथ डटकमका समाचार संयोजक मदन ढुङ्गानाले केही समयअघि जापानमै पुगेर एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेसँग कुराकानी गरेका छन् । जापानमा रहेका नेपालीका समस्या, दुःख, अवसर, चुनौती आदि विषय समेटिएर गरिएको कुराकानीको पूर्ण अंश यहाँ प्रस्तुत गरिएको छ :
जापानमा एनआरएनको भूमिका चाहिँ कस्तो रहेछ ? अहिले तपाईँले के के काम गर्नुपर्ने रहेछ ? कस्ता समस्या देखिँदा रहेछन् ?
पछिल्लो समयमा पब्लिक पनि धेरै बढिरहेका छन् । ३ लाख १० हजार पनि क्रस भइसक्यो । अब सबै पब्लिकको आशा भनेको एनआरएनमाथि छ । उहाँहरूलाई जे समस्या पर्दा पनि, सामान्य लेनदेनका समस्या किन नहुन्, बुढाबुढीकै झगडाका डिभोर्सकै कुरा किन नहुन्, एम्बेसीमा फोन नउठ्दाका कुराहरू किन नहुन् र नेपालबाट आएर यहाँ पीडित भएका, काम नपाउँदाका कुराहरू हरेक समस्याको साथी बनेर एनआरएन उभिइरहेको छ । हरेक जापानवासी नागरिकले आफूलाई सामान्य दुःख पर्दा, कोठा नपाउँदा पनि एनआरएनलाई सम्झिने खालको अवस्था छ ।
एनआरएनलाई सम्झिने मात्रै अवस्था छ कि एनआरएनले पनि सम्झिएको छ त त्यसलाई ?
यस्तो छ, हाम्रो उद्देश्य त त्यो होइन भन्ने कुरा तपाईँलाई पनि सायद थाहा होला । तर हामीले चाहिँ जापानवासी नेपालीको बसाइ सहज बनाउनका लागि अथक प्रयास गरिरहेका छौँ । अब यसमा कतिपय ठाउँमा ३ लाख १० हजार नेपालीलाई हाम्रो एउटा कार्यसमितिले, त्यहीमाथि हामी जागिरे पनि होइन भोलेन्टियर हो । हाम्रा कार्यसमितिका साथीहरूका आफ्नै व्यवसाय छन्, आफ्नै जागिर छ । आफ्नो परिवार छ । आफ्नो व्यस्ततालाई पनि उहाँहरूले छुट्टाएर, समय निकालेर गरिरहेको प्रयास मलाई एकदम उत्कृष्ट लाग्छ । तथापि कतिपय घटनालाई हामीले पनि समन्वय गर्न नभ्याएका पनि छन् । साना साना कुरा गर्न नभ्याएका कारण धेरै समस्या आयो भने हामीले पनि नभ्याएको अवस्था पनि हुन सक्छ ।
तपाईँ एनआरएन जापानको अध्यक्ष बन्न कति समय लाग्यो ? कुन भिसामा कसरी आउनुभएको थियो ?

म २००७ मा स्टुडेन्ट भिसामा जापान आएँ । त्यसपछि लगातार सन् २०११ सम्म पढेँ । त्यसपछि आफ्नै व्यवसाय सुरु गरेँ । त्यहाँबाट व्यावसायिक भिसामै छु अहिलेसम्म । र, एनआरएनएमा चाहिँ प्रत्यक्षरूपमा म प्रवक्तामा आएँ पहिला । त्यसपछि उपाध्यक्ष र अहिले अध्यक्ष छु । प्रत्यक्षरूपमा जोडिएको दुई कार्यकाल भयो । तर त्यसभन्दा पहिलाका अध्यक्षज्यूहरूसँग म अप्रत्यक्ष रूपमा जोडिने, सामाजिक अभियानमा उपस्थित हुने र समाजमा परेका समस्यालाई समाधानका लागि पहल गर्थेँ । यसकारण म अग्रपंक्तिमै थिएँ पहिला पनि ।
तपाईँ आउँदाको जापान र अहिलेको जापानको फरक कत्तिको छ ? कत्तिको दुःख कष्ट भोग्नुपर्यो तपाईँले ?
पहिला हामी आउँदाखेरिको दुःख कस्तो थियो भने नेपाली कम भएर दुःख थियो । हामीलाई भाषा कम आउने, हामीलाई काममा लगेर चिनाइदिने, यहाँको वातावरणमा घुलमिल गर्न सिकाइदिने, रहनसहन सिकाइदिने हाम्रा अभिभावकहरू थिएनन् त्यसबेला । त्यो कुराले हामी दुःखित थियौँ । तर अहिले नेपालीलगायत अन्य देशका विदेशी नागरिक धेरै भएकोले धेरै अप्रिय घटना पनि हुने गरेका छन् । जति पब्लिक बढ्यो त्यति नराम्रा घटना घट्ने झैँ झगडाका केस हुने र काम पाउन गाह्रो जस्ता समस्या अहिले छन् ।
खासमा जापानमा आउने अधिकांश व्यक्ति पहिले त विद्यार्थी भिसामै हुन्छ । स्टुडेन्ट भिसामा आउने नेपाली विद्यार्थीले पाउने दुःख कस्ता प्रकृतिका छन् ? उनीहरूले कति खर्च गरेर आउँछन् ? के के भनेर ल्याइन्छ र यहाँको रियालिटी के छ ?
तपाईँले एकदमै राम्रो कुरा उठाउनु भयो । यो मलाई धेरै ठाउँमा भन्न मन लागेको कुरा पनि हो । यो हामीले भन्दा पनि नेपाल सरकारले नै रोक्नुपर्ने कुराहरू धेरै छन् । नेपालबाट कन्सल्टेन्सीहरूले पठाउने बेलामा २८ घण्टा काम गर्न पाइन्छ भन्नुहुन्छ स्टुडेन्टलाई र त्यहाँ सँगै के भन्नुहुन्छ भने हुन त मेरो यो कुरा सुनेर कन्सल्टेन्सीको साथीहरू रिसाउनुहोला तर म पनि त्यो कुराहरू धेरै ठाउँमा मैले अनुभव गरेको हुनाले भनिरहेको छु । कतिपय कन्सल्टेन्सी जेनुन पनि छन्, तर धेरैजसो कन्सल्टेन्सीले २८ घण्टा काम गर्न पाउनुहुन्छ, ह्यान्डक्यास काम पनि पाइन्छ महिनाको २ लाख ३ लाख कमाई हुन्छ भन्नुहुन्छ । हुन त यहाँ त्यो पनि छ । एउटा ह्यान्डक्यास काम गर्ने र अर्को ठाउँमा २८ घण्टा काम गर्ने चलन पनि चलिरहेको छ । तर पछिल्लो समयमा के भयो भने सरकारले २८ घण्टा कामलाई कडाइका साथ हेरिदियो र ह्यान्डक्यास काम जो जोले गर्नुहुन्छ उहाँहरूको पनि पत्ता लागेर स्कुलले नै त्यो आरुबाइतो खान्री भन्छ जापनिजमा आरुबाइतोलाई स्कुलले नै हेर्न थाल्यो । कसले २८ घण्टा गर्या छ कसले त्यो भन्दा बढी गर्या छ । त्यसपछि गाकुसेई स्टुडेन्टलाई सबभन्दा कठिन परिस्थिति अहिले छ । के कारणले छ भन्दा २८ घण्टा भन्दा बढी काम गरेमा ओभरवर्क हुनाले उहाँहरूलाई सिधै भिसा एप्लाइ नै नदिएको अवस्था छ, हामीलाई धरै नै त्यो समस्या आइरहेको छ ।
भनेको २८ घण्टा भन्दा बढी काम गर्नेलाई फिर्ता नै पठाइदिएको छ ?
थाहा पाएको केसमा फिर्ता नै पठाइ दिइरहेको छ । कतिपय केसमा हामीले अब जो हुनुहुन्छ नि त्यहाँ काम गर्ने व्यक्ति उहाँले चाहिँ २८ घण्टा बैंकमा काम गर्नुभएको छ, बैंकमा पैसा आउँछ र २८ घण्टा हातमा लिनुभएको छ त्यो केसमा कहिलेकाँहि थाहा हुँदैन । तर दुवै ठाउँबाट बैंकमा आयो भने गाक्कोले थाहा पाएर गाक्कोले नै भिसा एप्लाइ गर्न नदिएर पठाइदिने गर्छ । त्यसमा हामी गाक्कोमा गएर पहल त गर्दिन्छौँ तर उसले सुन्दैन । नेपालमा जस्तो यहाँ भनसुन चल्दैन । यहाँ भनसुन चल्ने भनेको नियम कानुनमा मात्रै हो । त्यसैले नेपालै जस्तो पनि नसोचौँ, हामीहरू त्यो नियम कानुनमा बसिदिनुभयो भने जापान एकदमै अपर्चुनिटी भएको देश हो, भविष्य उज्ज्वल छ भन्न चाहन्छु ।
खासमा यहाँ जापान आउन चाहिँ एकजना विद्यार्थीले कति खर्च गर्नुपर्छ ? कलेज, होस्टेल गरेर र यहाँ २८ घण्टा काम पाउँदा त्यो ऋण तिर्न वा यहाँको खर्च गर्दाको अवस्था ठ्याक्कै विद्यार्थी र अभिभावकले बुझ्ने गरी भनिदिनुस् त ?
एकदमै स्पष्टसँगै भन्छु । सामान्यतया हामीले के बुझ्नुपर्छ भने स्टुडेन्ट भिसामा आउँदै गर्दा हामी कमाउन आएको होइन । त्यो सोच लिएर आउनुभयो भने जापान एकदम राम्रो छ । तपाईँ १ वर्ष ६ महिना जति यहाँको निहोङ्गो गाक्को ल्यांग्वेज कलेज गएर त्यसलाई ग्र्याजुएसन गरेपछि भोकेशनल कलेज गइसके पछाडि तपाईँहरूले यहाँको अहिलेको हिसाबमा चाहिँ निहोङ्गो नोर्योकु सिकेन भन्छ एन टु पास गर्नुभयो भने कम्पनी पाउन गाह्रो छैन र कम्पनी पाएर काम गर्नुभयो भने लगभग २ लाख ५० हजार भन्दा माथिको स्यालरी अहिलेको सिनारियोमा जापनिज कम्पनीहरूमा पाइन्छ । र, कमाउने भनेको त्यो कम्पनीमा काम गरेपछि हो । त्यो भन्दा पहिला २८ घण्टाले यहाँ बस्न खान मुस्किलले ३०–३५ हजार जोगाउनुहोला धेरै जोगाउनुभयो भने त्यो भन्दा बढी चाहिँ एक्सपेक्टेसन नगर्दा हुन्छ ।
भनेको ल्यांग्वेज पास गरेर त्यो कमाउने हुन कम्तीमा कति समय खर्च गर्नुपर्छ ?
लगभग साढे तीन वर्ष ।
भनेको जसले जति पैसा हालेर आएको छन् साढे तीन वर्षसम्म त्यो पैसाको रिटर्न हुने सम्भावना करिब करिब छैन ?
एकदमै कम छ । उहाँहरूले यहाँ आफ्नो जीवनयापनलाई अलिकति कम खर्चिलो बनाउनुभयो भने ३०–३५ हजार ४० हजारसम्म परिवारलाई पठाउन सक्नुहुन्छ होला । त्यो पनि २८ घण्टा काम गरेर । किनकि स्कुललाई फी त पहिले नै उहाँहरूले तिरिसक्नु भएको हुन्छ । त्यो कारणले अलिकति पठाउन चाहिँ सक्नुहुन्छ । तर त्यो भन्दा बढी पठाउने सोच हो भने चाहिँ उहाँहरूले साढे तीन वर्ष पढेर कलेजको ग्र्याजुएसन गरिसकेपछि मात्र सम्भव होला सायद ।
यहाँ आउन चाहिँ अब सुरुमा कति बुझाउँदा रहेछन् होस्टेल फीसहित ? तपाईँले कतिदेखि कति लिएको पाउनुभएको छ ?
त्यो चाहिँ कलेजको फी कलेजअनुसार हुन्छ । टोकियोमा फरक छ । टोकियोबाट धेरै टाढा गाउँतिर जानुभयो भने फरक छ । र, होस्टेल पनि त्यहीअनुसार हुन्छ । जस्तै, फुकुओकातिर सस्तो पर्छ । टोकियोमा भयो भने फेरि होस्टेल पनि महँगो पर्छ । जस्तै, महिनाकै ४० हजार लिने होस्टेल पनि छन् । फुकुओकातिर गाउँतिर जानुभयो भने २० हजारमा भएका होस्टेल पनि छन् । लगभग १०–१२ लाख रुपैयाँ भनौँ न सामान्यतया ।
रोजगारी पनि त टोकियो र उता फरक होला नि ?
हो, फरक छ । जी क्यु भन्छ नि घण्टाको कति पाइन्छ भन्ने चाहिँ फरक छ । टोकियोमा लगभग १ हजार ३ सय समथिंग रुपैयाँ चाहिँ टोकियोले तोकिदिएको घण्टाको पारिश्रमिक छ भने फुकुओकामा त्यो भन्दा कम छ फेरि ।
विद्यार्थीहरू धेरै फ्रस्टेसन भएका, कति विद्यार्थीले त यहाँ सुसाइड पनि गरेको देख्छौँ । त्यो अवस्था चाहिँ किन आउँदो रहेछ ? जस्तै एक्सपेक्टेसन भर्सेज रियालिटीमा फरक भएर कि के कति कारणले ?

सुसाइडको केसलाई लिएर धेरै व्याख्या गरिएको छ । मलाई के लाग्छ भने बाहिर समाजमा हामीले सुन्दै गर्दा के सुनिएको छ भने सुसाइड गरेको चाहिँ आर्थिक समस्याले गर्दा हो भन्ने कुराहरू आइराछ । म अध्यक्ष भइसके पछाडि पनि सुसाइडका केसहरू केही नभए पनि १५–२० वटा भन्दा बढी चाहिँ मैले आफैँ बेहोरिराछु । र, त्यो सुसाइडको केस कस्तो छ भने आर्थिक समस्यामा परेर सुसाइड गरेको एकदमै न्यून छ, लगभग जिरो छ । र, पर्सनल रिलेसन, अफेयर, गर्लफ्रेन्ड ब्वाइफ्रेन्डसँगै बसेका कुरा । यी कुराको सुसाइड केस चाहिँ एकदमै धेरै छ । फ्रस्टेसनमा गएका कुराहरू पनि एकदमै कम छन् ।
यो फ्रस्टेसन हुने, डिप्रेसनमा जाने अवस्था आउनमा चाहिँ काम, कन्सल्टेसन आदिसँग सम्बन्धित छ कि अरू विषयसँग छ ?
सम्बन्धको कुराले मात्रै फ्रस्टेसनमा गइराछ मान्छेहरू । त्यो बाहेक अरू कतै पनि हामीले देखेको काम नपाएर फ्रस्टेसनमा गा अनि त्यसपछि गएर पैसा नेपालमा ऋण तिर्न नसकेर फ्रस्टेसनमा गा भन्ने चिज चाहिँ मैले लगभग लगभग देख्या छैन । रिलेसनले गर्दा फ्रस्टेसनमा गएर सुसाइड गर्न बाध्य भएको भन्ने कुराहरू चाहिँ धेरै छ जे होस् ।
अनि नेपालीहरू अहिले पनि कुक भिसामा कत्तिको आइरहेका छन् ? पहिला त तन्दुर कुकहरू धेरै आए । अहिले पनि त्यस्तै छ ? उनीहरू ठगिएको भन्ने समस्या र गुनासो छ कि छैन ?
यो कुक भिसाको विषयमा पनि अब हामीले जस्तै एसएसडब्लुलाई ल्याउँदै गर्दा हामीले उल्टै पैसा तिरेर ल्याउनुपर्ने हुन्छ । तर कुक भिसामा ल्याउँदै गर्दा नेपाली इन्डियन नेपाली रेस्टुरेन्टका मान्छेहरूले १०–१५ लाख लिने चलन चाहिँ प्रमाणै नभए पनि सबैलाई थाहा भएकै कुरा हो यो । ल्याइसकेपछि काम दिने अनि त्यसपछि यहाँ रेस्टुरेन्टमा व्यापार नहुनाले गर्दा कुक भिसामा आउनुभएका दाजुभाइहरू चाहिँ धेरै नै पीडित हुनुहुन्छ । कतिपय दाजुभाइले बाध्य भएर बाहिर काम गरेर नेपाल फर्किने अवस्था पनि आइरहेको छ ।
ती समस्याहरू अहिले पनि छन् ?
छन्, किन नहुनु ।
नेपालमै उठाउनेहरूले, कन्सल्टेन्सी वा व्यक्ति विशेषबाट आउनेहरूले पनि उता (नेपालमा) पैसा उठाएर यहाँ (जापानमा) बिचल्ली पारेको घटना कत्तिको छन् ? कामै नदिएका, रोजगारी नै नदिएको आदि छन् कि ?
बिचल्ली के छ भने मिस अन्डरस्ट्यान्डिङ भइरहेको छ । जस्तै नेपालबाट कुक भिसामा कोही आउन चाहनुहुन्छ भने उहाँहरूले पनि जापान आउनका लागि २०औँ लाख खर्च गर्न रेडी भइरहनु भएको हुन्छ । र, उहाँहरूलाई अलरेडी भनिसक्या हुन्छ कि यता जापानबाट तपाईँलाई स्यालरी चाहिँ मैले यति दिने हो है भनेर एउटा अमाउन्ट फिक्स गरेको हुन्छ । भनेको अन्डरस्ट्यान्डिङमा सम्झौताअनुसार जे कुरा भा’छ त्यो अनुसार दियो भने हामीले केही भन्न मिल्दैन । तर सम्झौता भन्दा बाहिर गएर जस्तै नेपालमा उहाँलाई २० लाख रुपैयाँ लिएर यहाँ तपाईँलाई म १५ लाख मात्र स्यालरी दिन्छु, बस्न खान दिन्छु भनेर ल्याएर यहाँ १० मान दिनुभयो भने त्यो गलत हो । तर अन्डरस्ट्यान्डिङमा आएको कुरामा हामीले पनि केही भन्न मिल्दैन । जो जो नेपालबाट आउँदै हुनुहुन्छ उहाँलाई चाहिँ एकदमै मजाले बुझेर स्यालरी के हुन्छ ? कति हुन्छ ? काम कहाँ गर्ने हो ? कति घण्टा काम गर्न पाइन्छ ? बाहिर काम गर्न पाइन्छ कि पाइँदैन आदि बुझेर आउन आग्रह गर्छु । तथापि तपाईँहरूलाई बुझ्न गाह्रो भयो भने एनआरएन जापानलाई, हामीलाई मेसेज गर्नुभयो, मलाई व्यक्तिगत रूपमा सम्पर्क गर्नुभयो भने पनि हामी तपाईँहरूलाई बुझाइदिन सक्छौँ ।
अब अर्को विषयमा प्रवेश गरौँ । यो ब्याचलर भिसाको विषय सबभन्दा ठुलो समस्याको रूपमा, बेरोजगारीको रूपमा र प्रत्येक पाइला पाइलामा ठगिने गरेका छन् भन्ने सुनिन्छ । अहिले जापानमा त ब्रोकर वा मिडल म्यान वा काम लाइदिने प्रत्येकले पैसा खाने समस्या रहेछ । ब्याचलर भिसाको अवस्था के हो ? के के कुरामा ख्याल गर्नुपर्छ ? लाग्ने करिब करिब लागत कति हुन्छ ?

यो लागत त मैले तपाईँलाई अमाउन्ट भन्न सक्दिनँ किनभने मान्छेअनुसार फरक-फरक पैसा लिएको पाइएको छ । केहीले ब्याचलर भिसामा १५ लाख लिएका छन् कोहीले चाहिँ १० लाख लिएको छ । कोहीले काम नदिने सर्त भनेर ८ लाख लिएको छ । कसैले २० लाख पनि लिएको छ । तर मेरो बुझाइमा भन्नुहुन्छ भने यहाँ वास्तवमा लाग्ने भनेको वकिल चार्ज मात्रै हो । वकिललाई दिने चार्ज मात्रै लाग्छ अरू लगभग जापनिज वकिल युज गर्यो भने एक डेढ लाख रुपैयाँ, त्यति हो । नेपाली वकिलहरू युज गर्यो भने अझ सस्तो पनि पाइन्छ । त्यति लाग्ला खर्च । फ्लाइट टिकट उहाँले आफैँ बेहोर्ने हो भने त्यो भन्दा बढी खर्च चाहिँ लाग्दैन । तर अन्डरस्ट्यान्डिङमा उहाँहरू आउनुभा’छ यसको मेन समस्या के हो भने नेपालबाट आउनुहुन्छ, जापान आउन उहाँहरूलाई पनि एकदमै रहर छ । कतिपय केसमा चाहिँ जसले ल्याइदिनुभा’छ उहाँलाई भगवान् मानेका मान्छे पनि छन्, १५ लाख २० लाख लिए पनि । जापान आउनुहुन्छ, बुढाबुढी हुनुहुन्छ कमाउनुहुन्छ लाइफ सेटल हुन्छ । तर कतिपय केसमा चाहिँ ल्याइदिएको मान्छेले १५-२० लाख रुपैयाँ लिनुहुन्छ, यहाँ ल्याएर काम दिनुहुन्न, स्यालरी दिन सक्नुहुन्न अनि त्यहाँबाट झगडा सुरु हुन्छ । अनि केस हाल्ने, एनआरएनमा आउने पनि भइराछन् ।
तर आउने मान्छेलाई मैले के भन्छु भने तपाईँहरू म्यानेजर भिसामा आउने हो भने अफिसमा भन्दा अन्यत्र काम गर्न मिल्दैन । रेस्टुरेन्टमा काम गर्नु पनि इलिगल हो । तर अन्यत्रै, कोरियन रेस्टुरेन्टमा काम गरेको पनि पाइएको छ, ठूल्ठूला कम्पनीमा काम गरेको पनि पाइएको छ, त्यो पनि इलिगल नै हो । त्यसकारण तपाईँहरूले बाहिर काम गर्ने हैन कि तपाईँले जेन्युइन रूपमा कम्पनीकै अफिसमा काम गर्न सक्नुहुन्छ भने सम्झौता गरेर आउनुस्, स्यालरी कति हो, अन्डरस्ट्यान्डिङमा आउनुस् । तर बाहिर काम गर्नु इलिगल नै हो ।
अनि तपाईँलाई भाषागत केही न केही ज्ञान चाहिँ हुनै पर्छ, जापानको नियम कानुन बुझ्या हुनुपर्छ, यहाँको संस्कार बुझेको हुनुपर्छ । त्यो भयो भने यहाँ बसाइ केही सजिलो हुन्छ । तर भाषा नजानी आउनु भयो भने तपाईँलाई यहाँ नेपाली रेस्टुरेन्टकै अफिसमा काम गर्न पनि एकदमै गाह्रो हुन्छ ।
ब्याचलर भिसामा आउनेहरू चाहिँ पहिले जागिर पनि फिक्स गरेर के काम गर्ने ? कुनमा गर्ने भनेर फिक्स भएर आउँछन् कि ओपन हुन्छ ?
हैन, त्यो मैले अघि नै भने नि, कतिपय ठाउँमा चाहिँ धेरै पैसा लिएर काम पनि दिने सर्तमा आउनुहुन्छ, कतिपय ठाउँमा चाहिँ पैसा कम लिएर काम दिन सक्दिनँ भनेर भनेको हुन्छ । आउनेहरूले चाहिँ जापानमा मेरो साथी छ काम लाइदिन्छ भनेर आएको पनि पाइएको छ ।
तर पैसा त धेरै तिरेको देखिन्छ, कन्सल्टेन्सीले पनि काम लाइदिन्छु, यो गर्दिन्छु, त्यो गर्दिन्छु भनेर ल्याएको देखिन्छ । तपाईँले भन्नुभयो वकिलको खर्च एक डेढ लाख मात्रै हो, तर रकम धेरै लिएको जस्तो देखिन्छ भने यो बिचको यति धेरै पैसा चाहिँ कसले खाँदो रहेछ ? कसरी खर्च गर्दा रहेछन् ?
यसको समस्या के हो भने यहाँ इन्डियन रेस्टुरेन्ट खोलिन्छ, चल्दैन र कतिपय धेरै नेपाली दाजुभाइले भिसा लगाइदिएर पैसा लिन्छु, कमाउँछु भन्ने दृष्टिकोणले रेस्टुरेन्टहरू खोलेका केसहरू पनि छन् । त्यसले गर्दाखेरि पैसा लिने चलन चाहिँ आएको होला जस्तो लाग्छ । तर धेरैजसो ठाउँमा चाहिँ पैसा लिने मान्छे पनि गलत हुनुहुन्न । अन्डरस्ट्यान्डिङमा लिइएको छ । उहाँहरूलाई ल्याएर सेटल बनाइदिएका केसहरू पनि छन् । र, कतिपय केसमा चाहिँ अलपत्र पार्नुभा’छ त्यो चाहिँ नगर्दिनुहोला भन्न चाहन्छु ।
मैले पनि त्यही अलपत्र पारेकाहरूको कुरा गर्न खोजेको । जस्तै धेरै मानिसहरू चाहिँ अलपत्र पारेर यहीँ पनि एउटाले ल्याउँछ, अलपत्र पार्दिन्छ । अर्कोले फेरि पैसा लिएर बल्लबल्ल जागिरमा लाउँछ । एक वर्षको कन्ट्याक्ट हुन्छ, त्यो पनि सकिन्छ । फेरि पैसा तिर्न पर्ने, पटक-पटक पैसा तिर्न पर्ने समस्या रहेछ । यसरी अलपत्र पर्ने समस्या समाधानका लागि तपाईँहरूले केही पहल गर्नुभएको छ ? कन्सल्टेन्सी वा नेपाल सरकारलाई केही सुझाव छ ?
हैन, यो तपाईँले भनेको कुक भिसा म्यानेजर भिसा चाहिँ कन्सल्टेन्सीको थ्रुबाट आएको छैन । यहीँको जसले रेस्टुरेन्ट सञ्चालन गर्नुहुन्छ, कम्पनी सञ्चालन गर्नुहुन्छ उहाँहरूले डाइरेक्ट नेपालबाट बोलाउनुभएको छ । भनेको आफै आफै कुरा गरेर आउनुभएको छ । तर म के भन्न चाहन्छु भने तपाईँले ल्याउनुस् ठिक छ, तर अन्डरस्ट्यान्डिङमा जुन सम्झौता हुन्छ त्यो अनुसारको काम चाहिँ दिनुहोला, त्यो अनुसारको स्यालरी दिनुहोला । हामीलाई दिनदिनै केसहरू आइरहेका छन् । हामी एकदम खुल्लमखुल्ला रूपमा हामीले सक्ने कारबाही चाहिँ गर्छौँ । तर हामीलाई पनि कानुनी रूपमा कारबाही गर्नका लागि कुनै अधिकार छैन, एनआरएन जापानलाई । तर हामी एम्बेसीसँग सहकार्य गरेर काम गरिरहेका छौँ । यस्ता घटनालाई निमिट्यान्न पार्न त हामीलाई पनि गाह्रो छ, तर न्यूनीकरण गर्न लागिरहेका छौँ । धेरै केस आउँछन् । नेपालबाट १५ लाख रुपैयाँ खाएर ल्याउनुभयो, ल्याइसकेपछि यहाँ काम दिनुभएन, ६ महिना स्यालरी नै दिनुभएन, बस्न खान मात्रै दिनुभयो भन्ने केस धेरै आइरहेको छ, धेरै केसलाई हामीले समाधान पनि गरिसकेका छौँ । तर अन्डरस्ट्यान्डिङमा भएको छ, सम्झौता गरेर आएबमोजिम भएको छ भने हामीसँग नआउनुस्, हामी केही गर्न सक्दैनौँ । हामीले दुवै पक्षको कुरा सुन्नुपर्छ । तर सम्झौताअनुसार भएको छैन भने आउनुस्, हामी पहल गर्छौँ, कसले ल्याउनुभयो ? कति पैसा लिनुभएको हो हामीले चाहिँ पहल गर्छौँ ।

र, कतिपय केसमा पैसा फिर्ता लिएर नेपाल गएका केस पनि धेरै छन् । हामीले नै दुई जनालाई राखेर पैसा फिर्ता दिलाइदिएर उहाँहरू नेपाल जानुभएको छ, धेरैजसो नेपाल जानुभएको छ अहिले ।
काम गर्न नसकेर कि नपाएर ?
काम गर्न त सक्नुहुन्छ तर त्यो अनुसारको काम पाउनुभएन । उहाँको सीप, क्षमताअनुसार त्यो सुइटेबल हुने काम चाहिँ पाउनुभएन उहाँले ।
जस्तै म काम लाइदिन्न, तिमीलाई जापान मात्र ल्याइदिन्छु भनेर पनि त्यत्रो पैसा लिन पाइन्छ ? लिगल्ली वा इलिगल्ली जसरी भए पनि त्यो नैतिकरूपमा पाइन्छ त्यस्तो ?
लिगल्ली त कामै लाइदिन्छु भनेर पनि पाइँदैन नि त । सबै चिज इलिगल्ली भइरहेको छ । तर अन्डरस्ट्यान्डिङमा भएपछि तपाईँ आउने मान्छे हुनुहुन्छ म ल्याउने मान्छे छु, तपाईँले नि केस हाल्न सक्नुहुन्न नि ।
होइन, यो ब्याचलर वा म्यानेजर भिसाको मोडालिटी के हो त नि ? के भनेर आउने, कामकै लागि आउने त होला ?
कामकै लागि आउने हो । तर कामकै लागि आउँदै गर्दा जस्तै शोउकाइर्यो भन्छ नि कसैले चिनाइदियो भने कम्पनीले पैसा दिन्छ । जापनिज कम्पनीको केसमा हो भने तपाईँले मलाई कामदार चिनाइदिनुभयो भने मैले तपाईँलाई २०–३० हजार रुपैयाँ दिन्छु । त्यो चाहिँ लिगल्ली चल्छ जापानमा । बुझ्नुभयो नि ? अनि नेपालमा चाहिँ कामदारले चाहिँ पैसा दिनुपर्ने भन्ने लिगल्ली हैन फेरि । जस्तै यहाँ ल्याउने मान्छेले पनि जापनिज कम्पनीसँग पैसा पाउनुहुन्छ २०-३० हजार रुपैयाँ अर्थात् मासिक पैसा लिन सकिन्छ । तर कामदारसँग लिनु भनेको चाहिँ इलिगल नै हो ।
भनेको म्यानपावर सप्लाई गरे बापत पैसा आउने हो ?
पैसा आउने हो यता जापनिज कम्पनीले दिन्छ र कतिपय केसमा चाहिँ कामदारसँग पनि लिन मिल्ने केस पनि छन् । तर जुन ठुलो रकम लिइन्छ नि, त्यो चाहिँ एकदम इलिगल हो, त्यो लिन मिल्दैन । तर अब म्युचुअल अन्डरस्ट्यान्डिङमा भइसकेपछि फेरि त्यसलाई हामीले केही गर्न पनि सक्दैनौँ ।
जस्तै तपाईँले अघि फिर्ताको कुरा गर्नुभयो, कस्तो अवस्थामा मानिसहरू धेरै फिर्ता वा डिपोर्ट भइरहेका छन् ?
जस्तै, सम्झौता गर्नुभयो, तपाईँले एकजना मान्छे ल्याउनुभयो, सुरुमा १५ लाख लिनुभयो । आउनुस् काम दिन्छु, महिनाको १५ मान स्यालरी दिन्छु भनेर ल्याउनुभयो । तर उहाँले काम दिन सक्नुभएन अर्थात् काम दिनुभयो, स्यालरी दिन सक्नुभएन अर्थात् स्यालरी १५ मान भन्नुभयो ७-८ मान भन्दा बढी दिनुभएन । त्यस्तो केसमा चाहिँ हामीलाई आएका केस निवेदनलाई हामीले छलफल गरेर ल तपाईँले चाहिँ अब पैसा फिर्ता दिनुपर्छ भनेपछि आउने व्यक्तिले पनि मलाई पैसा फिर्ता दिनुभयो भने म नेपाल जान्छु भनेर गइरहेका केसहरू एकदमै बाक्लो छ अहिले ।
त्यसो भए यहाँ आउन खोज्ने विद्यार्थी र ब्याचलर भिसालाई तपाईंको सुझाव चाहिँ के छ त ?
जापान आउँदा बुझेर आउनुस्, यहाँ आउनुहुन्छ भने नेपालबाट कमसेकम एन थ्री लेबलको भाषा पास गरेर आउनुस् । जापान सरकारले मागोस् वा नमागोस्– कागजमा एन थ्री लेबलको भाषा सिकेर आउनुस् । तपाईँ कुक भिसामै आए पनि त्यत्तिको भाषा सिक्नुभयो भने तपाईँलाई काम गर्न पनि सहज हुन्छ । अनि जे भिसामा आउनुहुन्छ त्यसको दक्षता लिएर आउनुस्, सीप लिएर आउनुस् । कुक भिसामा आउनुहुन्छ भने कुकिङमा पर्फेक्ट हुनुस् । अहिले पछिल्लो समयमा नेपाली रेस्टुरेन्टहरू कति राम्रो चलिरा’छ । नेपाली रेस्टुरेन्टमै काम गरेर २५ मान ३० मान स्यालरी लिने नेपाली कुक दाजुभाइहरू पनि हुनुहुन्छ । तर सबैले स्यालरी पाइनँ, काम पाइनँ भन्नुमा उहाँहरूको पनि आफ्नो कमजोरी छ किनभन्दा उहाँहरूलाई भाषा आउँदैन, खाना बनाउन आउँदैन, डुप्लिकेट पेपर बनाएर नेपालबाट कुकिङमा आउनुभा’छ । त्यस्तो चाहिँ नगर्नुस् र जेन्युइन तरिकाले आउनुभयो भने नेपाली रेस्टुरेन्टले कुक भिसामा काम गर्नेलाई २५ मान दिएको त हामीले कति देखिरहेका छौँ । त्यही भएर सधैँ यो होइन कि नेपाली रेस्टुरेन्टमा पैसै दिन्न, स्यालरी नै दिन्न, समयमा दिन्न भन्ने चाहिँ गलत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया