बीवाईडीको नयाँ इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेट बजारमा, मूल्य कति ?

लोकपथ
63
Shares

काठमाडौं । बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाले नयाँ इलेक्ट्रिक सुपरकार ‘डेन्जा जेट’ सार्वजनिक गरेको छ ।

यो गाडी बेलायतमा भएको गुडवुड फेस्टिभल अफ स्पिड मा पहिलो पटक प्रदर्शन गरिएको हो ।

कम्पनीका अनुसार चीनमा जुलाई १३ देखि प्रि–बुकिङ खुला गरिएको डेन्जा जेटले पहिलो २४ घण्टामै विश्वभरबाट १ हजारभन्दा बढी अर्डर पाएको छ ।

डेन्जा जेटलाई विलासी र उच्च प्रदर्शन गर्ने इलेक्ट्रिक सुपरकारका रूपमा बजारमा ल्याइएको हो ।

चीनमा यसको कुपे मोडलको सुरुवाती मूल्य करिब १ करोड ५२ लाख रुपैयाँ छ । स्पाइडर (कन्भर्टिबल) मोडलको मूल्य करिब १ करोड ७४ लाख रुपैयाँ र रेसिङ संस्करणको मूल्य करिब २ करोड ६४ लाख रुपैयाँ तोकिएको छ । युरोपमा यसको सुरुवाती मूल्य करिब २ करोड ९५ लाख रुपैयाँ पर्ने बताइएको छ ।

यो गाडीमा तीनवटा विद्युतीय मोटर जडान गरिएको छ, जसले संयुक्त रूपमा १,५८२ हर्सपावर शक्ति उत्पादन गर्छ । रेसिङ संस्करणले १.९६ सेकेन्डमै शून्यबाट १०० किलोमिटर प्रतिघण्टा गति लिन सक्छ भने यसको अधिकतम गति ३५० किलोमिटर प्रतिघण्टा रहेको छ ।

कम्पनीले डेन्जा जेटमा नयाँ प्रविधिहरू प्रयोग गरेको जनाएको छ। ई–थ्री प्लेटफर्मले चारै पाङ्ग्रामा आवश्यकताअनुसार शक्ति वितरण गर्छ भने डिसस–एम सस्पेन्सन प्रणालीले सडकको अवस्थाअनुसार छिटो प्रतिक्रिया दिन्छ ।

गाडीमा दोस्रो पुस्ताको सीटीबी ब्लेड ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यो ब्याट्रीलाई केवल पाँच मिनेट चार्ज गर्दा १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

बीवाईडीका विश्वव्यापी डिजाइन निर्देशक वुल्फग्याङ एगरको नेतृत्वमा तयार गरिएको यो सुपरकार ‘प्योर इमोसन’ डिजाइन अवधारणामा आधारित छ ।

गाडीको तौल घटाउन र हावाको अवरोध कम गर्न कार्बन फाइबरका विभिन्न भाग प्रयोग गरिएको कम्पनीले जनाएको छ । साथै, यस वर्ष जर्मनीको न्युबर्गरिङ नोर्डस्लाइफ ट्र्याकमा यसको प्रदर्शन परीक्षण गर्ने योजना पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?