जुम्ल्याहा शिशु हत्या प्रकरण : आरोपित आमा पुर्पक्षका लागि थुनामा

लोकपथ
42
Shares

काठमाडौं । अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी एक आमालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

२३ वर्षीया एन्ड्रिया शाले आफ्ना जुम्ल्याहा शिशुको मृत्यु नियमित बालखोपका कारण भएको दाबी गर्दै आएकी थिइन् । उनले फ्लू, हेपाटाइटिस–ए र टिटानससहितका खोप लगाएको आठ दिनपछि शिशुको मृत्यु भएको सार्वजनिक रूपमा बताएकी थिइन् । उनी खोपविरोधी संस्था ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले दायर गरेको मुद्दाकी मुख्य वादीसमेत हुन् । उक्त संस्थाको स्थापना हालका अमेरिकी स्वास्थ्यमन्त्री बन्नुअघि रोबर्ट एफ केनेडी जुनियरले गरेका थिए ।

तर अमेरिकाको उत्तरपश्चिमी इडाहो राज्यस्थित पेएट प्रहरी विभागले लामो अनुसन्धानपछि शिशुको मृत्यु प्राकृतिक नभई श्वास अवरुद्ध गरी हत्या गरिएको निष्कर्ष निकालेको जनाएको छ । सोही आधारमा शालाई पक्राउ गरी हत्या अभियोग दर्ता गरिएको हो ।

मंगलबार भएको अदालतको सुनुवाइमा शाकी कानुन व्यवसायी जोसेफ फिलिसेट्टीले उनलाई मायालु र जिम्मेवार आमा भएको दाबी गर्दै राज्यले प्रस्तुत गरेको आरोप वास्तविकताभन्दा फरक रहेको बताएका थिए ।

मृत्युदण्डसम्मको सजाय हुन सक्ने अभियोग सामना गरिरहेकी शाले २० लाख अमेरिकी डलर बराबरको धरौटी रकम घटाइदिन आग्रह गरेकी थिइन् । पक्राउ पर्नुभन्दा केही दिनअघि जन्मिएकी आफ्नी नवजात छोरीसँग बस्न पाउने आधारमा उनले यस्तो अनुरोध गरेकी हुन् । तर न्यायाधीश किली स्टुचलिकले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै धरौटी अस्वीकार गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकी छन् ।

सन् २०२५ को मे महिनामा जुम्ल्याहा शिशुको मृत्यु भएपछि शाले उनीहरूलाई ओछ्यानमा अचेत अवस्थामा फेला पारेको र खोपकै कारण मृत्यु भएको दाबी गर्दै आएकी थिइन् ।

यद्यपि स्वास्थ्य विज्ञहरूले नियमित बालखोपले श्वासप्रश्वास अवरुद्ध हुने वा त्यस्तो जोखिम बढाउने कुनै वैज्ञानिक प्रमाण नभएको स्पष्ट पारेका छन् । उनीहरूका अनुसार आनुवंशिक रूपमा समान नभएका जुम्ल्याहा शिशुको एउटै समयमा खोपको प्रतिकूल प्रतिक्रियाबाट मृत्यु भएको दाबी पनि अस्वाभाविक छ ।

यस घटनाबारे अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । त्यस्तै, ‘चिल्ड्रेन्स हेल्थ डिफेन्स’ ले पनि सञ्चारमाध्यमको प्रतिक्रिया मागको जवाफ दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?