चीनले भन्यो- ब्यारियर लेकबाट सिर्जना हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्युनिकरण गर्न चुनौतीपूर्ण छ

लोकपथ
0
Shares

काठमाडौं । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ (केरुङ) नाकामा गएको विनाशकारी पहिरोपछि बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । समयसँग प्रतिस्पर्धा गर्दै चिनियाँ उद्धारकर्मीले प्रभावित क्षेत्रमा खोजी अभियान अघि बढाएका छन् ।

चीनको राष्ट्रिय अग्नि तथा उद्धार प्रशासनका अनुसार शुक्रबार बिहान १० बजेसम्म ६ सय ८१ जना अग्नि नियन्त्रक तथा उद्धारकर्मी र १ सय १३ वटा सवारीसाधन विकट हिमाली क्षेत्रमा परिचालन भएका छन् । उद्धारका लागि ६ हजार ६ सय १२ थान उपकरण तथा आवश्यक बन्दोबस्तीका सामग्रीसमेत जिरोङ गाउँतर्फ पठाइएको छ ।

नेपालतर्फबाट सुरु भएको पहिरो बुधबार बिहान जिरोङ काउन्टीस्थित केरुङ नाकामा खसेको थियो । बिहीबार बिहान ८ बजेसम्मको विवरणअनुसार पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । दुई स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ ।

उद्धारका लागि बिहीबार बिहान १ सय ४१ जना उद्धारकर्मीको पहिलो टोली उच्च उचाइमा उडान भर्न सक्ने हेलिकप्टरसहित घटनास्थल पुगेको थियो । सोही दिन अपराह्न चीनको विशेष खोज तथा उद्धार टोलीका थप १ सय ११ सदस्य जिरोङ पुगेका थिए ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन तीनवटा विशेष टोली परिचालन गरिएको छ । टोलीहरूले रबरको डुङ्गामार्फत जलमार्ग, पैदलमार्फत जटिल हिमाली भू–भाग र ड्रोनमार्फत हवाई निरीक्षण तथा राहत सामग्री ढुवानी गरिरहेका छन् ।

त्यस्तै, अग्रिम टोलीले मुख्य विपद् क्षेत्रको म्यापिङ र निगरानी गर्नुका साथै पहिरोका कारण थुनिएको नदीबाट बनेको ‘ब्यारियर लेक’को अवस्थाबारे अध्ययन गरिरहेको छ । प्राविधिक सहयोगका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयअन्तर्गतको साङ्घाई फायर रिसर्च इन्स्टिच्युटका १३ जना विज्ञसमेत घटनास्थल पुगेका छन् ।

यसैबीच, चीनको सरकारी स्वामित्वको इन्जिनियरिङ तथा उद्धार निकाय ‘चीन आनेन’ले १५ सदस्यीय विशेषज्ञ टोली परिचालन गरेको छ । टोलीले ड्रोन, पोर्टेबल स्याटेलाइट स्टेशन र मोबाइल सर्भिलेन्स क्यामरामार्फत अवरुद्ध सडक तथा ब्यारियर लेकको अवस्थाको सूक्ष्म अध्ययन गरिरहेको छ ।

उद्धारकर्मीहरूका अनुसार नाकाभन्दा करिब ३ किलोमिटर माथिल्लो क्षेत्रमा थुप्रिएको लेदो र गेग्रान हटाउनुअघि ब्यारियर लेकबाट उत्पन्न हुनसक्ने जोखिमलाई पूर्ण रूपमा न्यूनीकरण गर्नु प्रमुख चुनौती बनेको छ । बेपत्ताको खोजी तथा उद्धारसँगै सम्भावित थप जोखिम रोक्न उद्धार टोलीले उच्च सतर्कताका साथ काम गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?