काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले नेपालको तराई क्षेत्र नजिक रहेकाले धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
आज राति पनि देशभर बदली रहने र धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी क्षेत्र र कोशी तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
विभागले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बासिन्दालाई भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । साथै कृषि, सडक, हवाई यातायात, पर्यटन र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले विभागको पछिल्लो मौसम सूचना नियमित रूपमा हेर्न पनि अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया