काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई क्षेत्र नजिक भएकाले आज देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश समय बादल लाग्नेछ । यी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। केही हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा तथा केही तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । कोशीको तराई र गण्डकीका पहाडी क्षेत्रमा राति पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
२४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ ।
विभागले भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने जनाएको छ । यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा हेर्न अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया