टाइफुन ‘बाभी’को कहर : चीनमा नौ लाखभन्दा बढी विस्थापित

लोकपथ
0
Shares
फाइल तस्बिर

किलुङ । शक्तिशाली टाइफुन ‘बाभी’ का कारण चीन, ताइवान, जापान र फिलिपिन्स प्रभावित भएका छन् ।

टाइफुनको असरका कारण चीनमा ९ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौँ घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

चीनको पूर्वी झेजियाङ प्रान्तमा आइतबार टाइफुन जमिनमा ठोक्किने अनुमान गरिएको छ । सम्भावित ठूलो क्षतिलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उद्धार र सुरक्षाका सबै तयारी पूरा गरेको जनाएको छ । भारी वर्षाको जोखिमका कारण स्थानीय बासिन्दाले घर तथा पसल सुरक्षित बनाउने काम गरिरहेका छन् ।

यसैबीच, चीनको उत्तरी क्षेत्रमा लगातार वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । राजधानी बेइजिङ नजिकको जलाशयबाट बाढी नियन्त्रणका लागि थप पानी छोडिएको छ । यसअघि चीनको दक्षिणी र मध्य क्षेत्रमा आएको खराब मौसमका कारण कम्तीमा ३९ जनाको मृत्यु भइसकेको छ ।

ताइवानमा टाइफुनका कारण तीव्र हावा र वर्षा भएपछि अधिकांश व्यवसाय दोस्रो दिन पनि बन्द रहे । १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सयौँ उडान रद्द भएका छन् भने १ लाख ७० हजारभन्दा बढी घरपरिवार विद्युतविहीन भएका छन् ।

ताइवानको मौसम विभागका अनुसार टाइफुन अहिले केही कमजोर भए पनि यसको अधिकतम हावाको गति प्रतिघण्टा १३७ किलोमिटर र झोक्काको गति १७३ किलोमिटरसम्म पुगेको छ । उत्तरी तटीय क्षेत्रमा १० मिटरसम्म अग्ला छाल आउन सक्ने चेतावनी पनि दिइएको छ ।

फिलिपिन्समा टाइफुनसँगै आएको वर्षा र पहिरोका कारण १८ जनाको मृत्यु भएको छ। करिब ११ हजार मानिस विस्थापित भएका छन् । दर्जनौँ बन्दरगाह बन्द गरिएका छन् भने ३१३ जहाज सुरक्षित स्थानमा राखिएका छन् ।

जापानको दक्षिणपश्चिमी ओकिनावा क्षेत्रमा पनि टाइफुनको असर देखिएको छ। १८ हजारभन्दा बढी घर तथा भवन विद्युतविहीन भएका छन् । दर्जनौँ उडान रद्द हुँदा २६ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।

वैज्ञानिकहरूका अनुसार समुद्री सतहको तापक्रम बढ्दै जाँदा यस्ता शक्तिशाली आँधीको जोखिम पनि बढिरहेको छ । यस वर्ष सक्रिय भएको एल निनो का कारण पनि प्रशान्त क्षेत्रमा यस्ता आँधी थप शक्तिशाली बन्न सक्ने अनुमान गरिएको छ । यद्यपि ताइवानका केही स्थानीयले केही क्षेत्रमा अनुमान गरिएजस्तो ठूलो असर नदेखिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?