इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको दाबी

लोकपथ
28
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अमेरिकी सेना पूर्ण तयारीमा रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानलाई लक्षित गरेर एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा राखिएको दाबी गरेका छन् । उनले यदि इरानले अमेरिकी राष्ट्रपति वा अमेरिकी हितविरुद्ध कुनै हमला गरे त्यसको जवाफमा थप हजारौं क्षेप्यास्त्र प्रहार गरिने चेतावनी दिएका छन् ।

ट्रम्पको यो भनाइपछि अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ ।

यता, इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकाले दुई देशबीच भएको समझदारी उल्लंघन गरेको आरोप लगाएका छन् ।

उनले इरानले आफ्नो प्रतिबद्धता पालना गरिरहेको तर अमेरिकाले बारम्बार सम्झौता तोड्दै आएको बताएका छन् । उनले दुवै देशले सम्झौताका सबै सर्त पालना गर्नुपर्नेमा जोड दिएका छन् ।

इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफले पनि इरान कुनै दबाबमा नझुक्ने बताएका छन् । उनका अनुसार यदि अमेरिकाले सम्झौता उल्लंघन गरे वा आक्रमणको प्रयास गरे इरान आफ्नो रक्षा गर्न पूर्ण रूपमा तयार छ ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले देशका सशस्त्र बल उच्च सतर्कतामा रहेको जानकारी दिएका छन् । उनका अनुसार तट, टापु, सीमा क्षेत्र र अन्य संवेदनशील स्थानमा सैनिक परिचालन गरी अमेरिकी गतिविधिमाथि निगरानी बढाइएको छ ।

तनाव बढे पनि दुवै देशबीचको वार्ताबाट केही सकारात्मक संकेत देखिएको बताइएको छ । अमेरिकी अधिकारीहरूले वार्ता उपयोगी भएको बताएका छन् ।

तर अमेरिकाले अन्तिम सम्झौताअघि इरानले आफ्नो आणविक कार्यक्रमसम्बन्धी सर्त स्वीकार गर्नुपर्ने र आणविक सामग्री हस्तान्तरण गर्नुपर्ने अडान कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?