काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन २०२९’ अन्तर्गत ५० बुँदे कार्ययोजना पारित गरेको छ ।
ऊर्जा क्षेत्रको विकास, लगानी संरक्षण र निजी क्षेत्रको सहभागिता सुदृढ बनाउन अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा असार १९ र २० गते काभ्रेको धुलिखेलमा बसेको नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठकले उक्त कार्ययोजना अनुमोदन गरेको हो।
इप्पानका अनुसार कार्ययोजनामा हाल रोकिएका करिब १६ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) तत्काल खुलाउन पहल गर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ‘बैंकबल पीपीए’ को मस्यौदा तयार पार्ने तथा वन र जग्गा प्राप्तिको जटिल प्रक्रिया सहज बनाउन ‘सनसेट ल’ ल्याउन पहल गर्ने विषय समावेश छन् ।
यस्तै, ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र घोषणा गरी ९ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा उपलब्ध गराउन पहल गर्ने, विद्युत्को आन्तरिक खपत बढाउन औद्योगिक ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तथा भारत र बंगलादेशसम्म प्रसारण लाइन विस्तारलाई तीव्रता दिन सम्बन्धित निकायसँग समन्वय गर्ने निर्णय पनि गरिएको छ ।
कार्ययोजनामा इप्पानलाई अनुसन्धान तथा नीतिगत अध्ययन गर्ने ‘थिङ्क ट्याङ्क’ का रूपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ ।
बैठकले संस्थाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन विधानअनुसार १६ वटा समिति तथा उपसमिति गठन गरेको छ । ती समितिका संयोजकलाई १५ दिनभित्र आफ्नो कार्यक्षेत्र र कार्ययोजना पेश गर्न निर्देशन दिइएको छ ।
यसैगरी, ऊर्जा क्षेत्रका अनुभवी व्यक्तित्व गणेश कार्कीको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति तथा पूर्वसचिव दिनेशकुमार घिमिरेको नेतृत्वमा ९ सदस्यीय विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया