महालक्ष्मी विकास बैंकद्वारा पाँच विपन्न विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ छात्रवृत्ति

लोकपथ
7
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकले पाँच जना जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

बैंकले विभिन्न समयमा आफूमा एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, हरिप्रसाद गिरि, अशोक श्रेष्ठ, नवराजबहादुर सिंह र सीताराम प्रसाईको स्मृतिमा ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ स्थापना गरेको हो ।

यस कार्यक्रममार्फत सामुदायिक विद्यालयमा अध्ययनरत पाँच जना जेहेन्दार तथा विपन्न विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ ।

छात्रवृत्ति प्राप्त गर्नेमा काठमाडौंको श्री नन्दी माध्यमिक विद्यालयका विद्यार्थी विपिन बुढा, पर्साको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी छात्रा अनिशा शाह, कैलालीको श्री शारदा माध्यमिक विद्यालयकी छात्रा गुञ्जन सुनार, मकवानपुरको श्री अमर माध्यमिक विद्यालयकी छात्रा सुमिना लामिछाने र झापाको श्री सीताराम सामुदायिक अङ्ग्रेजी विद्यालयकी छात्रा मुस्कान खातुन रहेका छन् ।

बैंकका अनुसार छात्रवृत्ति सम्बन्धित संस्थापक अध्यक्षहरूको स्मृतिमा उनीहरूका परिवारका सदस्य तथा बैंकका पदाधिकारीमार्फत हस्तान्तरण गरिएको हो ।

बैंकले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ नरोकिने वातावरण बनाउन यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन सहयोग पुग्ने विश्वास बैंकको छ ।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित ३२ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको महालक्ष्मी विकास बैंकका देशभर करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?