४ सामुदायिक विद्यालयमा प्रविधि पहुँच विस्तार गर्न एनआईसी एशिया बैंकको सहयोग

लोकपथ
21
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत डडेल्धुरा, रुकुम पश्चिम र अछामका चार सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

बैंकले डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ असुर्पास्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालय, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँस्थित श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, अछामको मंगलसेन नगरपालिका–९ ओलीगाउँस्थित श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय तथा मंगलसेन–१४ कालागाउँस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराएको हो ।

बैंकका अनुसार भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत १५३ भन्दा बढी विद्यार्थीलाई प्रविधिमैत्री शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले दुई थान प्रोजेक्टर प्रदान गरिएको छ। बैंकका डडेल्धुरा शाखा प्रमुख पदमराज भट्टले विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद भट्टलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यस्तै, एक हजार ८७ भन्दा बढी विद्यार्थी अध्ययनरत यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई एक थान प्रिन्टर उपलब्ध गराइएको छ । बैंकका रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगरले विद्यालयका प्रधानाध्यापक कमलप्रसाद देवकोटालाई प्रिन्टर हस्तान्तरण गरेका छन् ।

अछामको मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरिएको छ । साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर रावल तथा प्रधानाध्यापक तेजबहादुर रावललाई सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी, अन्नपूर्ण माध्यमिक विद्यालयलाई पनि दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराइएको छ । उक्त सामग्री बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले विद्यालयका प्रधानाध्यापक छत्रविक्रम रावललाई हस्तान्तरण गरेका छन् ।

बैंकले यस्ता सहयोगले सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच विस्तार हुनुका साथै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?