राष्ट्रियतामाथि जोखिम बढ्यो, सबै देशभक्त शक्ति एक हुनुपर्छ : प्रदीप ज्ञवाली

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रियतामाथि जोखिम बढ्दै गएको दाबी गर्दै राष्ट्रिय हितका सवालमा सबै देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच न्यूनतम समझदारीसहितको एकता आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रम र गैरजिम्मेवार शासनका कारण राष्ट्रियता थप जोखिममा परेको दाबी गरे ।

उनले नेपालको परराष्ट्र नीतिको आधार सन्तुलित बाह्य सम्बन्ध, असंलग्नता तथा कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सिद्धान्त हुनुपर्ने बताए ।

ती आधारभूत मान्यताबाट विचलित हुने प्रयासले मुलुकको राष्ट्रिय हितमा गम्भीर असर पर्न सक्ने चेतावनी पनि उनले दिए ।

ज्ञवालीले संसदमा नेपालले पनि अर्को देशको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु गैरजिम्मेवार व्यवहार भएको आरोप लगाउँदै सरकार र नेतृत्व तहबाट आउने यस्ता अभिव्यक्तिले संवेदनशील भूराजनीतिक अवस्थाको नेपालका लागि राष्ट्रियतामाथि थप चुनौती सिर्जना गर्न सक्ने बताए ।

उनले राष्ट्रिय हितको संरक्षणका लागि सबै देशभक्त, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीच न्यूनतम समझदारी कायम गर्दै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?