काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधनको नाममा गणतन्त्र र लोकतन्त्रका आधारभूत मूल्यहरू कमजोर पार्न नहुने बताएका छन् ।
राष्ट्रिय जनमोर्चाद्वारा आयोजित ‘संविधान संशोधन, गणतन्त्र र राष्ट्रियताको रक्षा’ विषयक विचार गोष्ठीमा बोल्दै ज्ञवालीले वर्तमान राजनीतिक शक्ति सन्तुलन लोकतान्त्रिक र वामपन्थी शक्तिहरूको प्रतिकूल रहेको उल्लेख गर्दै संशोधन प्रक्रियामा विशेष सावधानी आवश्यक रहेको बताए ।
उनले प्रतिनिधि सभाको वर्तमान अंकगणितका कारण संविधान निर्माणमा संलग्न मुख्य दलहरूको प्रभाव घटेको दाबी गर्दै संवैधानिक प्रक्रियालाई थप संवेदनशील ढंगले अघि बढाउनुपर्नेमा जोड दिए ।
सरकारको पछिल्लो कार्यशैलीप्रति टिप्पणी गर्दै ज्ञवालीले मुलुक निर्वाचित अधिनायकवाद तर्फ उन्मुख हुन सक्ने आशंका व्यक्त गरे । उनका अनुसार मौलिक हक, ट्रेड युनियन अधिकार र प्रेस स्वतन्त्रतामाथि नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।
उनले राज्यका अंगहरू, विशेष गरी न्यायपालिकामाथि राजनीतिक प्रभाव बढेको भन्दै चिन्ता व्यक्त गरे । संवैधानिक परिषद्को मर्मविपरीत प्रधानमन्त्रीको इच्छाअनुसार प्रधानन्यायाधीश नियुक्त हुने अवस्था लोकतन्त्रका लागि हानिकारक हुने उनको भनाइ थियो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबारे भइरहेको बहसप्रति असहमति जनाउँदै ज्ञवालीले नेपालजस्तो भूराजनीतिक संवेदनशील मुलुकमा यस्तो व्यवस्था जोखिमपूर्ण हुने दाबी गरे । नियन्त्रण र सन्तुलनबिनाको कार्यकारी प्रणालीले अधिनायकवाद जन्माउन सक्ने उनको चेतावनी थियो ।
उनले हालको संसदीय व्यवस्थालाई नै परिमार्जन गरी प्रभावकारी बनाउनुपर्ने धारणा राखे । ‘संविधान निर्माण गर्ने मुख्य तीन दलको प्रतिनिधि सभामा उपस्थिति ७९ मात्र छ। यस्तो अवस्थामा प्रतिकूल संशोधनलाई रोक्ने क्षमता पनि कमजोर भएको छ, ‘उनले भने, ‘स्वतन्त्र सञ्चारमाध्यमलाई निस्तेज पार्ने र सामाजिक सञ्जाल नियन्त्रण गरेर समाजलाई सेल्फ सेन्सरसिपतर्फ धकेल्ने प्रयास भइरहेको देखिन्छ ।’
ज्ञवालीले प्रधानमन्त्रीको नाम उल्लेख गर्दै हिटलरको ‘म्यानेजरियल स्किल’ सिक्ने भनिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । बहुलवादी र विविधतायुक्त समाजमा यस्तो सोच आपत्तिजनक हुने उनको टिप्पणी थियो ।
उनले संविधानलाई गतिशील दस्तावेजका रूपमा स्वीकार गरे पनि आधारभूत संरचना गणतन्त्र, लोकतन्त्र, सामाजिक न्याय र समावेशितामा स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए ।
संविधान संशोधन प्रक्रिया विश्वसनीय हुनुपर्ने र यसका लागि संविधान निर्माणमा संलग्न शक्तिहरूबीच निरन्तर संवाद आवश्यक रहेको ज्ञवालीको भनाइ छ । उनले गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्नेमा पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया