काठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थअनुकूल हुन थालेको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौंमा आयोजित संविधान संशोधनसम्बन्धी बहस कार्यक्रममा बोल्दै उनले संविधान संशोधन राष्ट्रिय आवश्यकता भन्दा पनि सत्तामा रहेका वर्गको निहित स्वार्थ र सत्ता टिकाइराख्ने रणनीतिबाट प्रेरित भएको आरोप लगाए ।
महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै वर्तमान सरकारले फासिस्ट प्रवृत्तिलाई संस्थागत गर्ने दिशामा संविधान संशोधनको बाटो लिएको दाबी गरे ।
उनका अनुसार नेपालको आन्तरिक मामिलामा विदेशी शक्तिहरूको हस्तक्षेप देखिनु गम्भीर विषय हो, जसले देशको सार्वभौमिकतामाथि प्रश्न उठाएको छ । उनले करिब एक शताब्दी लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरू कमजोर पार्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै उनले भने, ‘देशको राष्ट्रिय आवश्यकताअनुसार संविधान निर्माण वा संशोधन हुनुपर्ने हो, तर कतिपय अवस्थामा शासक वर्गले आफ्नै स्वार्थअनुसार कानुन निर्माण गर्ने गर्छन् । अहिलेको सरकारले फासिस्ट रूप लिँदै गएको छ र त्यसलाई पूर्णता दिन संविधान संशोधन गर्न थालिएको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ ।’
महामन्त्री सिंहले प्राप्त लोकतान्त्रिक र वामपन्थी उपलब्धिहरूको रक्षा गर्न सबै प्रजातान्त्रिक तथा वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया