विदेशमा उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित पूर्वभीआईपीहरुविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता 

लोकपथ
49
Shares

काठमाडौं । राज्यका विशिष्ट अधिकारीहरूले विदेशमा गएर उपचार गरेको खर्च फिर्ता गराउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । आज बिहीबार दर्ता भएको रिट निवेदनमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । 

सो रिट सरोजकुमार न्यौपानेले दायर गरेका हुन् । रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, झलनाथ खनाल, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई विपक्षी बनाइएको छ ।

रिटमा प्रचलित कानुनविपरीत विदेशमा गएर उपचार गर्ने राज्यका विशिष्ट अधिकारीहरूको उपचार खर्च राज्यकोषबाट भरिएको र त्यो गलत भएको उल्लेख छ ।

सर्वोच्च अदालतले गत वैशाख १४ गते राज्यका पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानुनी व्यवस्था खारेज गरेको थियो । संविधान र ऐनसँग बाझिएको कार्यविधिमा भएको व्यवस्था खारेज हुने संवैधानिक इजलासले निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी(दोस्रो संशोधन) कार्यविधि, २०७३ को दफा १२(१) खारेज गरेको हो । सो दफामा पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा गराएको उपचारको खर्च सरकारले व्यहोर्ने व्यवस्था थियो । ती पूर्व विशिष्ट व्यक्तिको परिभाषामा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख, पूर्वप्रधानन्यायाधीश, पूर्वउपसभामुख, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वराज्यमन्त्री, पूर्वसहायकमन्त्री, पूर्व सांसद र पूर्व संवैधानिक पदाधिकारी पर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?