इन्द्रचोकमा पेस्तोल देखाएर लुट्न खोज्ने दुइ जना पक्राउ [भिडियोसहित]

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको इन्द्रचोकस्थित एक ज्वेलरी (गहना पसल) मा हातहतियार देखाइ लुटपाटको प्रयास गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको ठिमि नगरपालिका–९ बोडे बस्ने ३० वर्षीय विकेश राजबाहक र काडमाडौं महागनरपालिका–१९ का अरुण भुजेल रहेका छन् ।

उनीहरुले उक्त ज्वेलरीमा चोरीको प्रयास गरेको भिडियो अहिले सामाजिक सञ्जालमा यत्रतत्र फैलिएको छ । घटना हो गत वैशाख १७ गते । भिडियो अनुसार उनीहरु उक्त ज्वेलरीमा प्रवेश गरेको देखिन्छ । सुरुमा त्यहाँ एक महिला बसिरहेको अवस्थामा देखिन्छिन् । दुई मध्ये एकले पेस्तोल देखाएर लुटपाट गर्न खोज्छन् । तर महिलाले उनीहरुमाथि प्रतिकार गरेको देखिन्छ । महिलामाथि नै हातपात गरिरहेका उनीहरुमाथि महिलाले कुर्सी समेत प्रहार गरेपछि भने उनीहरु भागेको देखिन्छ ।

त्यसो त सो दिन फरार रहेका उनीहरुले ०८२ साल पुस २१ गते काठमाडौं महानगरपालिका २५ मांसान गल्ली स्थित रहेको एक होलसेल पसलमा पेस्तोल देखाइ २ तोलाको सिक्री, नगद, ४ लाख, मोबाइल २ थान र सीसीटिभी समेत लुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

सीसीटिभी फुटेजको दृश्यका आधारमा उनीहरुलाई प्रहरीले सोमबार विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

उनीहरुको साथबाट चाईनिज पेस्तोल १ थान, १ थान सोही पेस्तोलको म्यागजिन, १ थान गोली, १ थान नक, घटना भएको समयमा प्रयोग भएको कपडाहरु र घटनामा प्रयोग भएको स्कुटर समेत बरामद गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?