काठमाडौंलाई सडक मानवमुक्त बनाउन तिलगंगामा ‘स्क्रिनिङ सेन्टर’ सञ्चालन, पहिलो दिन ३६ जनाको उद्धार

लोकपथ
42
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘सडक मानवमुक्त काठमाडौं’ अभियानलाई तीव्रता दिँदै पशुपति क्षेत्रको तिलगंगामा स्क्रिनिङ (होल्डिङ) सेन्टर सञ्चालनमा ल्याएको छ ।

काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा गत वैशाख २२ गतेदेखि वडा नं.८ स्थित तिलगंगामा उक्त सेन्टर सञ्चालनमा आएको हो । सेन्टरको स्थापना पश्चात सडकमा रहेका सहयोगापेक्षी व्यक्तिहरूको पहिचान, वर्गीकरण र व्यवस्थापनमा सहजता आएको महानगरको भनाइ छ ।

अभियानको पहिलो दिन पशुपति क्षेत्रका विभिन्न स्थानबाट ३६ जना सडक आश्रित व्यक्तिहरूको उद्धार गरिएको थियो । तीमध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने केही व्यक्तिहरू भागेको महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये आधाभन्दा बढीलाई सोही दिन साँझसम्म परिवारसँग पुनर्मिलन गराइएको थियो ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरको स्थलगत निरीक्षण गर्दै उद्धार गरिएका व्यक्तिहरूसँग भेटघाट गरी उनीहरूको अवस्था, समस्या र पारिवारिक पृष्ठभूमिबारे जानकारी लिएकी थिइन् । उनले सडकमा रहेका व्यक्तिहरूको व्यवस्थापनमा पारिवारिक पुनर्मिलनलाई प्राथमिकता दिइने र असहाय तथा बेवारिसे अवस्थामा रहेकालाई मात्र आश्रयमा राखिने स्पष्ट पारिन् ।

महानगरले बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा उद्धार टोली परिचालन गरिरहेको छ । विशेषगरी पशुपति क्षेत्र लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रमा सडक आश्रितको संख्या बढी भएकाले त्यहाँ केन्द्रित अभियान सञ्चालन भइरहेको जनाइएको छ ।

पहिलो दिन उद्धार गरिएकामध्ये ६ जना महिला र २२ जना पुरुष रहेका छन् । उनीहरूको उमेर २५ देखि ७८ वर्षबीच रहेको छ। उद्धार गरिएकामध्ये केहीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ भने एक जना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते रहेको महानगरले जनाएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई पनि आवश्यक उपचार तथा स्याहार प्रदान गरिएको छ ।

महानगरका अनुसार उद्धार गरिएका व्यक्तिहरूको ठेगाना सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत र दोलखा लगायतका जिल्लाबाट रहेको छ ।

पशुपति क्षेत्र विकास कोषले सेन्टरको पूर्वाधार तथा व्यवस्थापन सुधारमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

महानगरले सडकमा अलपत्र वा असहाय व्यक्तिहरू देखिएमा मानव सेवा आश्रममार्फत जानकारी गराउन नागरिकहरूलाई अनुरोध गर्दै यो अभियान सबैको साझा जिम्मेवारी भएको बताएको छ ।

कार्यवाहक प्रमुख डंगोलले सडकमा कोही पनि नागरिक भोकै वा बेवारिसे अवस्थामा बस्न नपरोस् भन्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको उल्लेख गर्दै यसले राज्यप्रति नागरिकको विश्वास मजबुत बनाउने अपेक्षा व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?