काभ्रेपलाञ्चोक । बेमौसमी वर्षाका कारण पटक–पटक अवरुद्ध हुँदै आएको बीपी राजमार्गमा रातिको समयमा आवागमन बन्द गरिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मंगलबारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालन अनिश्चितकालका लागि रोकिएको हो ।
सुरक्षा निकायका अनुसार लगातारको वर्षासँगै रोशी खोलामा आएको बाढीले खोलाको सतह बढाउने र सडकमा बनाइएका अस्थायी डाइभर्सन बगाउने समस्या देखिएपछि जोखिम न्यूनीकरणका लागि रातिको यात्रा रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार मौसमको अवस्था हेरेर मात्र आगामी दिनमा आवागमन नियमित गरिनेछ ।
यसअघि सोमबारको वर्षापछि रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउने बीचको क्षेत्रमा पाँचवटा माइक्रोबसमा रहेका ८९ यात्रु फसेका थिए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति करिब १ बजे उनीहरूको सकुशल उद्धार गरेको थियो ।
वर्षाले राजमार्ग अवरुद्ध भएपछि धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोकमा सवारीसाधनलाई होल्ड गरिएको थियो । बीपी राजमार्गमा पटक–पटक डाइभर्सन बग्ने समस्या देखिँदै आएको छ, जसका कारण यातायात प्रभावित हुँदै आएको छ ।
सुरक्षा निकायले राजमार्ग प्रयोग गर्ने यात्रुहरूलाई यात्रा अघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र अर्को सूचना नआएसम्म जोखिमपूर्ण खण्डमा आवतजावत नगर्न आग्रह गरेको छ ।
गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो । त्यसपछि खोलाको किनार हुँदै अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको छ । हाल सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया