भैरहवा । भैरहवाको सिद्धार्थनगर नगरपालिका–१० स्थित रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा म्यानेजरसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले छापा मार्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको गौतमबुद्ध इन्टरनेसनल होटलभित्र सञ्चालनमा रहेको उक्त क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ४ जना जुवा सञ्चालनमा संलग्न थिए भने १५ जना जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा १५ जना रुपन्देहीका रहेका छन् भने काठमाडौं, ललितपुर, गुल्मी र पर्साका एक–एक जना रहेका छन् ।
छापामारीका क्रममा प्रहरीले ९५ हजार ५ सय रुपैयाँ नगद, १७ थान मोबाइल फोन तथा करिब २ सय थान क्यासिनो क्वाइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
हाल पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया