अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु, केही अझै बन्द

लोकपथ
49
Shares
फाइल तस्बिर

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण अवरुद्ध भएका केही राजमार्गहरूमा पुनः यातायात सञ्चालन सुरु भएको छ ।

सोमबार साँझ परेको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध भएका ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ क्षेत्रको थुकिम्बा–दोभान भित्री सडकखण्ड, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोले अवरुद्ध अरनिको राजमार्ग तथा मकवानपुरको भिमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात पुनः सञ्चालनमा आएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन् ।

उनका अनुसार, मंगलबार साँझदेखि केही स्थानमा सडक पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने केही खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ । भोजपुर नगरपालिका–बोखिम खण्डको मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

यद्यपि, इलामको रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जोड्ने कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने क्षेत्रमा पर्ने बीपी राजमार्ग, साथै लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग अझै पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षातको समयमा बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले यात्रुहरूलाई अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेका सडकहरूमा अत्यन्त सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?