निरीक्षणपछि कुलमानले भने– ‘होल्डिङ सेन्टरमा सुकुमबासीको अवस्था कष्टकर रहेछ’

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुमबासी तथा अव्यस्थित बसोबासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन् ।

कीर्तिपुरस्थित सुकुम्बासी सेल्टर (होल्डिङ सेन्टर) को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद् भएको बताएका हुन् ।

निरीक्षणका क्रममा अध्यक्ष घिसिङले सेल्टरमा रहेका सुकुमबासीहरूको अवस्था निकै कष्टकर रहेको उल्लेख गरे ।

हालसम्म त्यहाँ ३ हजार १५९ जनाको स्क्रिनिङ भइसकेको जानकारी दिए । उनले विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

बसोबासको अन्योलताका कारण बालबालिकाहरूको शिक्षा र नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको उनले बताए ।

उनले हालैको आत्महत्याको घटनालाई दुःखद् भन्दै यस्ता विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । सरकारसँग दुई तिहाइको बहुमत र पाँच वर्षको स्पष्ट कार्यकाल रहेकाले हतारमा निर्णय नगरी सुझबुझपूर्ण ढङ्गले अघि बढ्न उनले सुझाव दिए ।

उनले भने, ‘विस्थापितहरूलाई हाल राखिएको सरकारी जग्गा (होल्डिङ सेन्टर) आफैँमा डुबान क्षेत्र हो । एउटै टेन्टमा धेरै परिवार कोच्चिएर बस्नुपर्ने बाध्यता छ, जुन स्वास्थ्य र सामाजिक दृष्टिकोणले उपयुक्त छैन । धेरै बालबालिका आजदेखि मात्र विद्यालय जान पाएका छन्, कतिपयको परीक्षासमेत प्रभावित भएको छ । स्वास्थ्योपचारमा कठिनाइ भइरहेको छ भने रोजगारी र व्यवसाय गुम्दा बैंकको ब्याज तिर्न नसकेर विस्थापितहरू मानसिक तनावमा छन् । पहिले व्यवस्थापनको योजना बनाएर मात्र बस्ती हटाउनु पर्दथ्यो, तर सरकारले उल्टो बाटो रोज्दा समस्या जटिल बनेको छ ।’

अध्यक्ष घिसिङले सुकुम्बासी समस्या देशैभरिको साझा समस्या भएको उल्लेख गर्दै वास्तविक सुकुमबासी र सरकारी जग्गा हडप्ने सम्पन्न वर्गबीच पहिचान हुनुपर्ने बताए ।

संविधानले प्रत्याभूत गरेको आवास र भूमिको अधिकारलाई कुण्ठित नगर्न आग्रह गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई जोडेर एकीकृत व्यवस्थापनको खाका ल्याउन सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?