काठमाडौं । सशस्त्र प्रहरीका निवर्तमान महानिरीक्षक राजु अर्यालले आफू प्रहरीमा प्रवेश गर्दा परिवारमा रुवाबासी चलेको र जागिर छाड्न दबाब दिएको बताएका छन् । आफूले जागिर खाँदा देश सशस्त्र द्वन्द्वमा रहेको र आफू युद्धमा खटिएपछि परिवारमा रुवाबासी चली जागिर छाड्न भनेको अर्यालले बताए ।
अवकाशकै दिन लोकपथसँगको अन्तरवार्ताका क्रममा अर्यालले लगातार युद्धग्रस्त क्षेत्रमा दरबन्दी परेपछि ‘ज्यान नै ठुलो’ कुरा हो भन्दै परिवारले आफूलाई जागिर छाड्न दबाब दिएको बताएका हुन् ।
तर अर्यालले भने प्रहरीमा राम्रोसँग सेवा गर्नेले अरू कुनै धर्म गर्नै नपर्ने भन्दै आफूले देशको सेवा गर्नकै लागू जागिर नछाडेको बरु परिवारका सदस्यलाई बुझाउने कोसिस गरेको बताए ।
‘युद्धका बिचमा तपाईँ जनपथ प्रहरीबाट सशस्त्रमा आई द्वन्द्वग्रस्त क्षेत्रमा खटिनुपर्दा परिवारले जागिर छोड्न दबाब दिएनन् ?’ भन्ने लोकपथको प्रश्नमा निवर्तमान आईजीपी अर्यालले परिवारका सदस्यले रोएर जागिर छाड्न दबाब दिएको बताएका हुन् ।
अर्यालले लोकपथसँगको कुराकानीमा भने, ‘जागिर छाड्न दबाब त कि नदिनु ? म इन्स्पेक्टर हुँदा रोल्पा, रुकुम, सल्यान, प्युठान आदि क्षेत्रमा खटिँदा त परिवारमा सबै रुने, जागिर छोड्दे भन्ने नै भयो । जागिर छोड्ने त छाड्ने तर किन छाड्ने ? अनि जागिर छाडेर के गर्ने र के खाने भन्ने कुरा पनि भयो । त्यो एउटा आम मानिसमा हुने कुरा पनि भयो । परिवारको प्रेसर त परेकै थियो, तर जागिर छोडेर फेरि के गर्ने भन्ने भयो । किनभने जागिर खानलाई पनि सजिलो थिएन नै । लोकसेवा लडेर, हजारौँबाट छानिएर आएर, त्यत्रो कठिन तालिम गरेर सुरु गरेको जागिर छाड्न मन पनि लागेन र म सँग अर्को विकल्प पनि थिएन । त्यस कारण परिवारले दबाब बढाउँदै गए, म काममा खटिँदै गएँ ।’
सोही प्रश्नमा निवर्तमान महानिरीक्षक अर्यालले प्रहरी सेवामा काम गर्नेले आफ्नो कर्तव्य मात्रै पूरा गरे पनि अरू कुनै धर्म नै गर्नु नपर्ने बताए ।
अर्यालले भने, ‘यो प्रहरीको जागिर कस्तो हो भने, जागिर खाने जोसुकै होस्, जवानदेखि आईजीसम्मै पनि; उसले आफ्नो कर्तव्य मात्रै पूरा गर्यो भने कुनै धर्म गर्नै पर्दैन, यो त्यस्तो चिज हो । प्रहरीको सेवा भनेको यस्तो सेवा हो र यो महत्त्वपूर्ण कुरा पनि हो । त्यस कारणले पनि मलाई आफ्नो मनबाट जागिर छाड्नुपर्छ वा छाड्छु जस्तो लाग्दै लागेन । किनभने योभन्दा पवित्र सेवा नै अरू छैन । अहिले पनि छैन, कहिल्यै पनि हुँदैन । अब सुख दुःख, लडाइँ, झै-झगडा त मान्छेको जीवनमा पर्ने कुराहरू नै हुन्, भई नै राख्छन् र त्यो स्वाभाविक हो ।’
निवर्तमान आईजीपी अर्यालले प्रहरी सेवा भनेको चौबिसै घण्टा सेवा दिने पेसा भएको भन्दै जनताले पनि प्रहरीलाई कम्तीमा सम्मान दिई आत्मसम्मानका साथ बस्ने वातावरण बनाउनुपर्ने बताए ।
अर्यालसँगको कुराकानीको पूर्ण अंश केही समयमा लोकपथमा प्रकाशन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया