प्रधानमन्त्रीलाई प्रदीप ज्ञवालीको प्रश्न : ‘बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ?’

लोकपथ
0
Shares
तस्विर: गुगल

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’को ‘नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने नारामाथि कटाक्ष गर्दै सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले प्रधानमन्त्रीको नारा आकर्षक भए पनि व्यवहार भने असंवेदनशील देखिएको बताए ।

बागमती किनारमा बसोबास गर्दै आएका नागरिकहरू विस्थापित हुँदा बगिरहेका आँशुले देशको वास्तविक अवस्था झल्काएको उनको भनाइ थियो।

‘बागमती किनारमा बगिरहेका आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि रोइरहेको ?,‘भन्दै उनले प्रश्न गरे।

ज्ञवालीले संविधानले परिकल्पना गरेको लोककल्याणकारी तथा समाजवादउन्मुख राज्यको अवधारणासँग सरकारको वर्तमान कामकारबाही मेल नखाने बताए । उनले आवास, खाद्य, रोजगारी र स्वच्छ वातावरणजस्ता मौलिक अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गरे ।

अव्यवस्थित बसोबास हटाउने क्रममा राज्यले अपनाएको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले हजारौँ सुरक्षाकर्मी परिचालन गर्न सक्ने सरकारले प्रभावित नागरिकको प्रमाण परीक्षण गरेर समाधान खोज्न किन नसकेको भन्दै प्रश्न उठाए ।

त्यस्तै, उनले सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक अधिकारहरू संकुचित हुने जोखिम बढ्दै गएको बताए। उनले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन अधिकार तथा मिडियामाथि नियन्त्रणका प्रयास भइरहेको आरोप लगाए।

‘हामी निर्वाचित सर्वसत्तावादतर्फ जाँदैछौँ कि भन्ने संकेत देखिन थालेको छ,‘उनले भने ।

सरकार गठनको १०० दिनसम्म आलोचना नगर्ने परम्परा भए पनि केही विषयमा मौन बस्न नसकिएको उनको भनाइ थियो ।

ज्ञवालीले अध्यादेशमार्फत कानुन निर्माण गर्ने प्रवृत्तिको पनि आलोचना गर्दै संसदमार्फत नियमित प्रक्रियाबाट कानुन निर्माण गर्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?