काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सोमबार बिहान ९ बजेर १५ मिनेट जाँदा दर्ज्यानी चिन्ह लगाउने भएका छन् । पौडेललाई सोमबारको मन्त्रिपरिषद् बैठकले १९ वैशाखदेखि लागू हुनेगरी महानिरीक्षकमा बढुवा नियुक्ति गरेको थियो ।
गृह मन्त्रालयमा आयोजना हुने कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिने भएका हुन् । यसअघि पनि महानिरीक्षकलाई गृहसचिवले नै दर्ज्यानी चिन्ह लगाइदिने चलन थियो ।
यो पटक महानिरीक्षकलाई कसले दर्ज्यानी चिन्ह लगाइदिन्छन् भन्ने विशेष चासोको विषय बनेको थियो । निवर्तमान गृहमन्त्री सुधन गुरुङले अबदेखि महानिरीक्षकलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह प्रदान गर्ने बताएकाले यो चासोको विषय बनेको थियो । तर गुरुङको बहिर्गमनसँगै अहिले गृह मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिरहेका छन् ।
दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलका परिवारजनको उपस्थिति रहने छ ।
दर्ज्यानी चिन्ह लगाएपछि नवनियुक्त महानिरीक्षक पौडेलले बंगलामुखी माताको दर्शनपछि प्रधान कार्यालयमा बिहान साढे ११ बजेतिर पदबहाली गर्ने कार्यक्रम छ । पदबहाली कार्यक्रममा सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकहरु, सशस्त्रका बहालवाला विशिष्ट अधिकृतहरू, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक पौडेलका परिवारजनको उपस्थिति रहनेछ । पदबहाली कार्यक्रममा सञ्चारकर्मीलाई पनि बोलाउने विषयमा छलफल भइरहेको छ ।
हालका महानिरीक्षक राजु अर्यालको चार बर्से पदावधि आज राति १२ बजे सकिँदै छ । अर्याललाई आजै दिउँसो ३ बजे सशस्त्र मुख्यालयमा विशेष कार्यक्रम गरी बिदाइ गरिँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया