काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं उपत्यकामा भत्काइएको सुकुमबासी बस्तीका विस्थापित परिवारसँग भेट गरी उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका छन् ।
भेटका क्रममा पीडित परिवारले राज्यका विभिन्न निकायबाट आफूहरूले निरन्तर सास्ती भोग्नुपरेको, साथै प्रशासनिक उदासीनताका कारण थप समस्या झेल्नुपरेको गुनासो गरेका थिए ।
विस्थापितहरूले हालैको वर्षा र बाढीका कारण आफ्नो बसोबास पूर्ण रूपमा प्रभावित भएको, घरभित्रका सामान निकाल्न समेत नपाएको तथा विद्युत् मिटर डुबेर लाइन काटिएपछि अन्धकारमा बस्न बाध्य भएको बताएका छन् ।
उनीहरूले यस्तो संकटका बीच पनि सम्बन्धित निकायले समाधान दिनुको सट्टा ‘कालोसूचीमा राख्ने’ वा ‘सामान जफत गर्ने’ जस्ता धम्कीपूर्ण व्यवहार गरेको भन्दै मानसिक तनाव बढेको गुनासो गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका–८ का एक पीडितले आफ्नो पीडा सुनाउँदै भने, ‘म दशरथ रंगशाला गएँ, त्यहाँ बन्द भनियो । प्रहरीलाई सम्पर्क गर्दा नगरपालिका जान भनियो र नगरपालिका पुगेपछि फेरि गुहेश्वरी पठाइयो। यसरी एक निकायबाट अर्को निकायमा पठाइए पनि कुनै ठोस सहयोग पाएनौं ।’
भेटका क्रममा भट्टराईसहितको टोलीले पीडितप्रति सहानुभूति व्यक्त गर्दै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको छ। विस्थापितको उचित व्यवस्थापनका लागि नाम दर्ता गराउन र कानुनी प्रक्रिया अपनाउन पनि सुझाव दिइएको थियो ।
भट्टराईले भने, ‘हामी सबै नागरिक हौँ, सबैको बराबर अधिकार छ । कसैलाई पनि अन्याय हुन दिनुहुँदैन। तपाईंहरूले आफ्नो विवरण र प्रमाण पेश गर्नुस्, कानुनी तरिकाले समाधान खोज्न हामी साथ दिनेछौँ ।’
बस्ती भत्काइएपछि खुला आकाशमुनि बस्न बाध्य भएका ती परिवारले तत्काल खाद्यान्न, सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया