काठमाडौं । चालु आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रको लगानीलाई प्राथमिकता दिएको पाइएको छ ।
राष्ट्रिय स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८२–०८३ को चैत मसान्तसम्म (९ महिनाको अवधि) मा ठूलो मात्रामा कृषिमा लगानी गर्न कर्जा प्रवाह गरेको हो ।
बैंकको वित्तीय तथ्यांक अनुसार यस अवधिमा ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ ।
बैंकले कृषिका विभिन्न क्षेत्रहरु बाख्रा–भैँसी पालन, माछापालनदेखि कुखुरा पालनसम्मका परियोजनामा लगानी गर्दै आइरहेको छ । पछिल्लो समय बैंकले ४ दशमलव ७५ प्रतिशत व्याजदरमा ५ करोडसम्मको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गरिरहेको छ ।
यता स्थानीय स्तरका साना किसानहरुलाई लक्षित गरी कुनै पनि प्रशोधन शुल्क समेत नलिइ बैंकले १० लाखसम्मको कर्जा उपलब्ध गराइरहेको छ ।
४ दशमलव ७५ प्रतिशत ब्याजदरमा नै ‘साना किसान सरल कर्जा’ उपलब्ध गराउँदै आइरहेको छ । किसान र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको बैंकले किसानहरुका लागि ‘किसान क्रेडिट कार्ड’ को समेत सुविधा उपलब्ध गराएको हो । यसले लगानी गर्न चाहने किसानहरुलाई राहत मिलेको छ ।
बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिइरहेको भन्ने यहाँबाट पनि पुष्टि हुन्छ कि, बैंकले केन्द्रीय कार्यालयमा छुट्टै कृषि तथा सामाजिक बैंकिङ विभाग समेत स्थापना गरेको छ ।
त्यतिमात्र नभइ कृषि कर्जा प्रवाहको सेवालाई थप व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि नीति जारी समेत गरेको छ ।
बैंकले दक्ष कृषि विज्ञ कर्मचारीहरुलाई भित्र्याइ बैंकका विभिन्न विभाग, प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत खटाउँदै आइरहेको छ । ७७ वटै जिल्लामा शाखा रहेको राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ३१४ वटा शाखाहरुमार्फत् कृषि कर्जामा ग्रामिण कृषकहरुको पहुँच सुनिश्चित गरेको छ । ग्राहकहरुलाई बेलाबेला वित्तीय सचेतना कार्यक्रमहरु समेत गर्दै आइरहेको बैंकले त्यसमा समेत उल्लेख्य प्रगती गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया