उजुरीबाट पछि हट्दै सशस्त्रका असन्तुष्ट एसएसपीहरू : कोही अर्कालाई उकास्दै, कोही टिकटकमा रमाउँदै

काठमाडौं । आफूहरूभन्दा एक वर्षपछि बढुवा भएकालाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएपछि उजुरीका लागि छलफल चलाइरहेका केही सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरू उजुरी दिनबाट पछि हट्दै गएका छन् । उजुरी दिन छलफल चलाइरहेका सिनियर एसएसपीहरू उजुरी हाल्दा आफ्ना लागि पर्न सक्ने प्रभाव, निकट भविष्यमै रिक्त हुने डीआईजी पद र पहिलाकै सिफारिस सदर भए नियमावलीअनुसार घट्नसक्ने २ नम्बरलाई देखाउँदै पछि हट्दै गएका हुन् । 

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा सिफारिस गरिएको, ऐ. नियमावलीको नियम ३८ को उपनियम (३) बमोजिम सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको र बढुवा सिफारिसउपर चित्त नबुझ्नेहरूले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम ७ (सात) दिन भित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सूचनामा भनिएको थियो । अब उजुरीको सूचना दिन भोलि बिहीबार एक दिन मात्र बाँकी छ । शुक्रबार सार्वजनिक बिदा भएकाले बिहीबार एक दिन मात्र बाँकी भएको हो । 

आफूहरूभन्दा एक वर्षपछि एसएसपी बनेका दुई जना राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई डीआईजीका लागि सिफारिस गरेपछि ‘सिनियर’ एसएसपीहरू भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, सुधिरजंग थापालगायतले त्यसमा चित्त नबुझाएर उजुरीका लागि छलफल चलाएका थिए । तर उनीहरुबीच नै उजुरीका लागि एकमत नभएको स्रोतको दाबी छ । उजुरी हाल्न छलफल चलाएकाहरू अधिकांश डीएसपी हुँदा निकै तल थिए । तत्कालीन सत्ता र शक्तिको आडमा एसपी बढुवामा उनीहरू माथि उक्लिएका थिए । 

स्रोतका अनुसार, उजुरी हाल्नबाट एसएसपी नीरकृष्ण अधिकारी पछाडि हटिसकेका छन् । 

हालको एसएसपी वरियतामा ‘टप टेन’ भित्र क्रमशः प्रवीण कँडेल, दिग विजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, सुधिरजंग थापा, किरण बस्नेत, माधवप्रसाद पौडेल, उद्धवबहादुर न्यौपाने र राजेन्द्र खड्का छन् । ‘टप टेन’ भित्रका यीमध्ये सुवेदी, बस्नेत, पौडेल र कँडेल अहिले डीआईजीमा सिफारिस भइसकेका छन् । 

अधिकारी उजुरी दिनबाट पछि हट्नुको मुख्य कारण वरीयतामा आफूभन्दा माथि केसी र तिउसिना भएकाले हो । केही गरी उजुरीमाथि छानबिन भएर सच्चिने अवस्था आउँदा पनि आफू नपर्ने भएपछि उनी पछि हटेका हुन् । यद्यपि उनी तिउसिना र केसीलाई भने उजुरी हाल्न उक्साइरहेका छन् । 

एसएसपी अधिकारी वरीयतामा आफू ५ नम्बरमा रहेकाले बढुवा हुनेमा ढुक्कझैं थिए । अहिले बढुवा सिफारिसमा नपरेका उनी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको अवकाशपछि रिक्त हुँदै आउने एक डीआईजी पदमा आफूलाई सुरक्षित राख्न अहिलेदेखि नै चलखेलमा लागेको स्रोतको दाबी छ । 

स्रोतका अनुसार, बढुवा सिफारिसमा नपरेपछि उनले आफ्नो ब्याचका केही एसएसपी (जो अहिले डीआईजीमा बढुवा सिफारिस भइसकेका छन्) लाई सम्पर्क गर्दै जागिर छाड्नेसम्मको पनि गुनासो गरेका थिए । 

सुर्खेतको वीरेन्द्रनगर घर भएका उनी अहिले सुर्खेतकै नारायणदत्त पौडेल महानिरीक्षकमा बढुवा नियुक्त भएपछि आगामी दिनमा आफूलाई बढुवाका लागि सहज भएको बताउन थालेका छन् । यद्यपि, केही दिनअघिसम्म पनि उनी पौडेलभन्दा वंशीराज दाहाल निकट मानिन्थे । मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी महानिरीक्षकको बढुवा नियुक्ति गर्नुअघिसम्म पनि उनी पौडेल र दाहालको ‘फिफ्टी फिफ्टी’ सम्भावना रहेको भन्दै हिँड्ने गरेका थिए । अधिकारी ब्याच २ को सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी हुँदा ३६ नम्बरमा थिए । हालका अख्तियार प्रमुख प्रेमकुमार राईको ‘फेरो’ समातेर उनी एसपी बढुवामा आफ्नो ब्याचमा ६ नम्बरमा आएका थिए । एसएसपी बढुवामा उनी आफ्नो ब्याचमा ७ नम्बरमा पुगेका थिए । १० नम्बरका दीपेन्द्र कुँवर (ख) १ नम्बरमा उक्लिँदा उनी ७ नम्बरमा पुगेका थिए । 

उता, ब्याच २ को एसएसपीमा ५ नम्बरमा बढुवा भएका भूपेन्द्र केसी भने डीआईजी बढुवा सिफारिसमा आफू नपर्नेमा ढुक्कझैं थिए । माओवादीको फेरो समातेर एसएसपी बढुवामा ५ नम्बरमा आउन सफल भएका उनी आफ्नो ब्याचको ६९ जनाको डीएसपीको सूचीमा ६७ नम्बरमा थिए । तत्कालीन माओवादी सत्ताको आडमा उनी डीएसपीको ६७ औं नम्बरबाट एसपीमा चार नम्बरमा आउन सफल भएका थिए । एसएसपी बढुवामा भने उनी ५ नम्बरमा पुगेका थिए । डीएसपी समादेशक रहने गरेको कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको समादेशक बन्न एसएसपी भएपछि पनि उनले मरिहत्ते गरेका थिए । एसएसपी भएपछि उनी झन्डै १ वर्ष स्कुलको समादेशक भएर बसेका थिए । स्कुलमा हुने अतिरिक्त आम्दानीको लोभमा उनले समादेशक बन्न तत्कालीन सत्ताको दुरुपयोग गरेका थिए । गत शुक्रबार भएको ६ जनाको डीआईजी बढुवा सिफारिसमा आफ्नो नाम नपरेपनि उनलाई टिकटकमा रमाउँदै गरेको देखिएको थियो । 

हाल डीआईजी बढुवा सिफारिसमा तलबाट माथि तानिएकाहरू भने डीएसपी हुँदासम्म टप फाइभभित्रैका थिए । डीआईजी बढुवा सिफारिसमा ५ नम्बरमा परेका राजेश उप्रेती डीएसपीमा ३ नम्बर र कार्की ५ नम्बरमा थिए । एसपी बढुवामा उनीहरूमाथि चरम अन्याय भएको थियो । एसपी बढुवामा ३ नम्बरका उप्रेतीलाई १४ र ५ नम्बरका कार्की २६ नम्बरमा पु¥याइएको थियो । ब्याच २ का १५ जना ६ साउन २०७९ मा एसएसपी बढुवा सिफारिसमा पर्दा उप्रेती र कार्कीसहित १२ जना भने ३२ साउन २०८० मा एसएसपी बढुवा सिफारिसमा परेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?