यस्ता छन् मन्त्री सीता वादीले गर्दिनँ भनेका १० काम 

लोकपथ
931
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफूले नगर्ने १० ओटा सूची सार्वजनिक गरेकी छिन् । मन्त्री भएको पाँच साताको अनुभव बाँड्दै उनले १० बुँदामा आफ्नो अनुभव र प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

उनले आज मंगलबार सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम गरेको छैन र सबै नागरिकलाई समान सेवा गरेकी छु ।’

यस्ता छन् उनले गर्दिन भनेका कामहरू

१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ ।

२. कानुनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ ।

३. कानुन वा नियम उल्लंघन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउने काम गर्दिनँ ।

४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ ।

५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने–गराउने काममा संलग्न हुने छैन । त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्तरूपमा उभिनेछु ।

६. विशेषगरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैंगिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति वा कुनै पनि सीमान्तकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैँ लड्नेछु । यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन ।

७. राज्यका कुनै पनि स्रोतसाधनको दुरुपयोग गर्दिनँ ।

८. सरकारी सेवा छिटो गराइदिन स्क्रिन सट खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ ।

९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी लिने छैन ।

१०. ‘भोट दिएको हुँ’ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैन । सबै नागरिकलाई समानरूपमा सेवा गर्नेछु । विशेषगरी कमजोर र सीमान्तकृत वर्गलाई प्राथमिकता दिनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?