अब विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट !

लोकपथ
322
Shares

काठमाडौं । सरकारले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

यातायात व्यवस्था विभागले यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै सहुलियत कडाइका साथ लागू गर्न निर्देशन दिएको हो । यदि कुनै पनि सवारी साधनले परिचयपत्र भएका विद्यार्थीलाई छुट दिन आनाकानी गरे कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी पनि दिइएको छ ।

विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विद्यार्थीहरूले पाउने कानुनी अधिकारको पालना गर्न स्मरण गराएको छ ।

विद्यार्थीहरूले सार्वजनिक यातायातमा तोकिएको ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरी गर्न थालेपछि विभागले विगतको सहमति पालनामा जोड दिएको हो ।

विभागले पठाएको पत्रमा सरकार र यातायात व्यवसायीहरूबीच २०६५ फागुन २० गते भएको निर्णयलाई स्मरण गराएको हो । त्यसदिन विद्यार्थीहरूलाई सवारी भाडामा ४५ प्रतिशत छुट दिने सहमति भएको थियो ।

तर, सार्वजनिक सवारीका चालक र सहचालकले विद्यार्थी परिचयपत्र देखाउँदा पनि सहुलियत दिन अस्वीकार गर्ने र दुर्व्यवहार गर्ने गरेको गुनासो गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?