काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन क्षमतालाई ‘तत्काल परिचालन’ केन्द्रित रणनीतिमा रूपान्तरण गरिने बताएका छन् ।
कुरिनटारस्थित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले अब विपद् सूचनापछि प्रतीक्षा गर्ने होइन, तुरुन्तै जोखिम क्षेत्रमा टोली परिचालन गर्ने नीति अघि बढाइने स्पष्ट पारे ।
उनका अनुसार गोताखोर तथा जोखिमयुक्त ड्युटीमा खटिने सुरक्षाकर्मीका लागि बीमा सुविधा बढाइएको छ । सरकारले १० लाख र नेपाल लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा थप २५ लाख गरी विपद्मा मृत्यु वा दुर्घटना भएमा ३७ लाख रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध हुने व्यवस्था गरिएको उनले जानकारी दिए । उद्धारका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीलाई ‘विपद् शहीद’ घोषणा गर्ने प्रस्ताव पनि सरकारसमक्ष पठाइएको र त्यसमा सकारात्मक संकेत प्राप्त भएको उनले बताए ।
आइजीपी अर्यालले कुरिनटारस्थित गोताखोर इकाईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा यसलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले उद्धारकर्ताको योगदानलाई राज्य र समाजले उच्च सम्मान गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जल तथा मौसम विज्ञान विभागसँग सहकार्य भइरहेको छ । देशभर ५९ वटा अस्थायी विपद् व्यवस्थापन बेस स्थापना गर्ने तयारी पनि गरिएको छ ।
यसैगरी, प्रत्येक वडाबाट २५ जनाका दरले करिब १ लाख ६७ हजार विपद् सूचक तयार गरिएको र स्थानीय तहसँग मिलेर १८ दिने ‘डिजास्टर भोलेन्टियर’ तालिममार्फत नागरिकलाई पहिलो प्रतिकार्यकर्ता ९फर्स्ट रेस्पोन्डर० बनाउने अभियान सञ्चालन भइरहेको उनले बताए ।
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डमा ‘रोड सेफ्टी काउन्सिल’मार्फत दुर्घटना न्यूनीकरण र तत्काल उद्धारका लागि नयाँ परियोजना सुरु गर्ने तयारीसमेत रहेको उनले जानकारी दिए ।
विसं २०६३ यता सशस्त्र प्रहरीले ३६ हजारभन्दा बढी विपद् घटनामा परिचालन भई १५ हजारभन्दा बढीको सकुशल उद्धार गरिसकेको उल्लेख गर्दै आइजीपी अर्यालले कार्यक्षेत्रमा पूर्ण अनुशासन र उच्च मनोबलका साथ खटिन सबैलाई निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया