गृहमन्त्री गुरुङ र कोरियाका राजदूत पार्कबिच भेट

लोकपथ
77
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र दक्षिण कोरियाका राजदूत पार्क ताय योङबिच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका क्रममा दुवै पक्षबिच नेपाल–कोरिया सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याउँदै आएको सहयोग तथा आगामी दिनमा पनि सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।

गृहमन्त्री गुरुङले विशेषगरी शिक्षा र रोजगारीका लागि कोरिया जाने नेपाली नागरिकको स्वास्थ्य, सुरक्षा र स्वदेश फर्किने प्रक्रियामा कोरिया सरकारले अवलम्बन गरेको सकारात्मक नीतिको प्रशंसाको साथै, भविष्यमा थप सहकार्यका लागि आग्रहसमेत गरे ।

राजदूत पार्कले नेपाली नागरिकहरू अनुशासित, मेहनती र इमान्दार रहेको उल्लेख गर्दै कोरियाली समाजमा उनीहरूले आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइरहेको बताए ।

भेटमा कोरिया सरकारको सहयोगमा नेपाल प्रहरीको साइबर ब्यूरोलाई सुदृढ बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै गृहमन्त्री गुरुङले त्यसका लागि कोरिया सरकारप्रति आभार व्यक्त गरे ।

साथै, भीड व्यवस्थापन र नागरिक सुरक्षाका लागि आवश्यक सुरक्षा सामग्री तथा उपकरण उपलब्ध गराउन दुई देशबीच सहकार्य बढाउन प्रस्ताव राखेका छन् ।

गृहमन्त्री गुरुङले नेपालमा कोरियाली लगानी तथा व्यवसायको सुरक्षामा सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्दै बौद्ध संस्कृतिको प्रवद्र्धन तथा लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रिय प्रचार–प्रसारका लागि साझेदारी आवश्यक रहेकोमा जोड दिए ।

भेटमा राजदूत पार्कले गृहमन्त्री गुरुङलाई पदभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

दुवै पक्षले नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ, विश्वासिलो र बहुआयामिक बनाउँदै आगामी दिनमा परस्पर सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?