नेपाल सस्तो होइन, उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल

लोकपथ
49
Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो पर्यटकीय गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित ‘आरोग्य पर्यटन’ गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ कार्यक्रममा बोल्दै उनले नेपाललाई ‘बजेट गन्तव्य’ को छवि बाट मुक्त गर्दै ‘प्रिमियम आरोग्य गन्तव्य’ बनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार पर्यटक संख्या मात्रै होइन, उनीहरूले पाउने अनुभवको गुणस्तर र आर्थिक योगदान नै देशको समृद्धिको मुख्य आधार हो । आरोग्य पर्यटनमा आउने पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्ने, लामो समय बस्ने र आत्मिक शान्ति तथा जीवनको अर्थ खोज्ने प्रकृतिका हुने उनले बताए ।

सभामुख अर्यालले नेपालका हिमालय, पवित्र नदी र प्राचीन योग–आयुर्वेद परम्परालाई विश्वकै लागि विशिष्ट ‘प्रोडक्ट’का रूपमा विकास गर्न सकिने उल्लेख गरे । उनले लुम्बिनी, रारा, मनाङ, मुस्ताङ तथा कर्णाली र पश्चिमका बडिमालिका–खप्तड क्षेत्रलाई आत्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने बताए ।

कार्यक्रममा उनले आरोग्य अवधारणा केवल रोग नहुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था भएको स्पष्ट गरे ।

उनले विश्वमा बढ्दो मानसिक तनाव, जलवायु परिवर्तन र असन्तुलित जीवनशैलीका बीच आरोग्य पर्यटन विश्वव्यापी रूपमा खर्बौँ डलरको उद्योग बनिसकेको उल्लेख गरे ।

नेपालसँग प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, योग–ध्यान परम्परा र आतिथ्यतामा आधारित ठूलो सम्भावना भए पनि स्पष्ट रणनीति र गुणस्तरीय सेवा अभाव चुनौतीका रूपमा रहेको उनले बताए ।

उनले अब पर्यटनलाई केवल व्यापार होइन, राष्ट्रिय पहिचान र गौरवको विषयका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै दिगोपन, गुणस्तर र स्थानीय समुदायको सहभागितामा आधारित नयाँ पर्यटन मोडेल आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?