काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णयको स्वागत गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पनि सोही अनुसारको सुविधा लागू गर्न माग गरेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख परामर्शदाता अर्थोपेडिक सर्जन प्राध्यापक डा.बद्री रिजालले चिकित्सकहरूको मानसिक तथा शारीरिक स्वास्थ्य र ‘बर्नआउट’ समस्यालाई ध्यानमा राख्दै दुई दिने बिदा अनिवार्य हुनुपर्ने बताएका छन् ।
सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित शनिबार र आइतबार बिदा दिने निर्णय गरे पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यसले सरकारी निर्णय सबै कर्मचारीका लागि समान रूपमा लागू हुनुपर्ने मागलाई थप बल दिएको चिकित्सकहरूको भनाइ छ ।
डा.रिजालका अनुसार अस्पतालअनुसार फरक–फरक बिदा र सेवा सञ्चालन समयका कारण अन्योल बढेको छ । उनले तत्काल सरोकारवालासँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले चिकित्सकहरूको कार्यस्थितिबारे टिप्पणी गर्दै भने, ‘असुरक्षित वातावरण र न्यून सुविधाबीच काम गरिरहेका चिकित्सकलाई थप दबाब दिइयो भने हामी आन्दोलनमा जान बाध्य हुनेछौँ ।’
उनका अनुसार चिकित्सकहरू २४ सै घण्टा अन–कल ड्युटीमा रहनुपर्ने, राति पनि आकस्मिक रूपमा अस्पताल पुग्नुपर्ने तथा निरन्तर मानसिक तनावमा काम गर्नुपर्ने अवस्था छ, तर अतिरिक्त श्रमको उचित मूल्यांकन नभएको उनको गुनासो छ ।
डा। रिजालले प्रशासनिक र चिकित्सकीय कर्मचारीबीच सुविधामा देखिएको असमानताप्रति पनि असन्तुष्टि जनाएका छन् । ११ औँ तहका प्रशासनिक कर्मचारीले गाडी र चालक सुविधा पाउने तर सोही तहका चिकित्सकहरू त्यस्ता सुविधाबाट वञ्चित हुनु विभेदपूर्ण भएको उनको भनाइ छ ।
उनले चिकित्सकहरूले श्रम ऐनले तोकेको ४० घण्टाको सट्टा हप्तामा ८० घण्टाभन्दा बढी काम गरिरहेको दाबी गर्दै यसलाई ‘श्रम शोषण’ भनेका छन् ।
अस्पताल सेवा प्रभावित नहुने गरी ओपीडी समय परिमार्जन गरेर आइतबार बिदा दिन सकिने वा आवश्यक परे दरबन्दी दोब्बर गर्नुपर्ने उनको सुझाव छ ।
यसैबीच, सरकारले गरेको ‘एकमुष्ट काज फिर्ता’ निर्णयप्रति पनि उनले आपत्ति जनाउँदै विशेषज्ञ चिकित्सकलाई पूर्वाधारविहीन क्षेत्रमा खटाउँदा सेवा प्रभावकारी नहुने बताएका छन् ।
चिकित्सकहरूले सरकारसँग तत्काल वार्ता र वैज्ञानिक कार्यविधि निर्माणको माग गरेका छन् । माग सम्बोधन नभए थप आन्दोलनमा जाने चेतावनी समेत उनीहरूले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया