काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा देशभर ७ हजार ६४८ वटा विपद्का घटना दर्ता भएका छन्, जसमा आगलागी र डढेलोका घटना सबैभन्दा बढी रहेका छन् ।
वैशाख १ गतेदेखि चैत २७ गतेसम्मको अवधिमा मात्र ३ हजार ७२० आगलागीका घटना भएका छन् । ती घटनामा १०५ जनाको मृत्यु भएको छ भने ५७१ जना घाइते भएका छन् । साथै, ४ हजार २६० परिवार प्रभावित भएका छन् ।
सोही अवधिमा ३२८ वटा डढेलोका घटना भएका छन्, जसमा २ जनाको मृत्यु, ३ जना घाइते तथा ५८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सुक्खा मौसममा आगलागीको जोखिम उच्च रहने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । ज्वलनशील पदार्थ सुरक्षित स्थानमा राख्न, सचेतना अभियान सञ्चालन गर्न र आगलागी रोकथामका उपाय कडाइका साथ अपनाउन सबैलाई अनुरोध गरिएको छ ।
यसैबीच, चैत २७ गतेदेखि २८ गते बिहानसम्म मात्र देशभर १९ विपद्का घटना भएका मध्ये १६ वटा आगलागीका रहेका छन् । वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रण तथा आगलागी न्यूनीकरणका लागि सम्बन्धित निकायलाई परिचालन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया