नेकपाको बैठक लम्बियो, अब वैशाख ३ गते बस्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जनसंगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नभएको बताएका छन् । 

केन्द्रिय कार्य समायोजन समितिको बैठक सातौँ दिनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले यस्तो  बताएका हुन् । 

युवा र विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत भएको उनले बताए  । यसको विरुद्धमा पार्टी सडकमा उत्रिने चेतावनी दिए । 

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, नयाँ सरकारको कार्यदिशा र पार्टीको आगामी कार्ययोजनाबारे गहन छलफल भइरहेको नेता खतिवडाले जानकारी दिए । 

विभिन्न कार्य व्यस्तताका कारण दैनिक केही घण्टा मात्र छलफल भइरहेको यो बैठकमा ४५ सदस्यीय केन्द्रीय कार्य समायोजन समितिका लगभग ४३ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा देशको समसामयिक परिस्थिति, नयाँ सरकारले लिने बाटो र पार्टीको सांगठनिक समायोजनका विषयमा गहन मन्थन भएको छ । 

उनले भने, ‘जनसंगठनहरू, खासगरी युवा र विद्यार्थी संगठनहरूलाई कलेजहरूमा प्रतिबन्ध लगाउने र ट्रेड युनियनको अधिकार कुण्ठित गर्ने कुरा गलत हो। यसको विपक्षमा हामी दृढतापूर्वक उभिन्छौँ ।’

नेता खतिवडाकाअनुसार बैठकमा पार्टीका सम्पूर्ण कमिटीहरूको समायोजन र एकीकृत पार्टीको भविष्यको कार्यदिशाबारे पनि छलफल भएको छ । नयाँ वर्ष र आन्तरिक गृहकार्यका लागि समय आवश्यक परेकाले अर्को बैठक वैशाख ३ गते बस्ने तय भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?