काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ वर्षदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ ।
साझा यातायातसँगको सहकार्यमा महानगरले आगामी वैशाख १ गतेदेखि रात्रीकालीन बस सेवा सुरु गर्ने निर्णय गरेको हो ।
महानगरका अनुसार सेवा दुई मुख्य रुटमा सञ्चालन हुनेछ । पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ । करिब १६ किलोमिटर लामो यो रुट एकतर्फी हुनेछ ।
दोस्रो रुट थानकोटबाट सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ । यो रुटको दूरी करिब २० किलोमिटर रहेको छ । यी दुई रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन गरिने महानगरले जनाएको छ ।
महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार राति ८ बजेपछि सार्वजनिक यातायात नहुँदा यात्रुहरूले महँगो यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्न यो सेवा सुरु गर्न लागिएको हो । उनले विशेषगरी महिला, किशोरी र विद्यार्थीहरू बढी प्रभावित भएकाले रात्रिकालीन सेवा आवश्यक भएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया