‘कांग्रेसले कार्की आयोगको प्रतिवेदन ठाडै अस्वीकार गर्नुपर्छ’

लोकपथ
182
Shares

काठमाडौं । गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल अस्वीकार नगरेको भन्दै नेपाली कांग्रेसभित्रै आलोचना भएको छ ।

कांग्रेसद्वारा गठित आयोगको प्रतिवेदन अध्ययन समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा सहभागी शुभेच्छुक तथा पेसागत संगठनका नेताहरूले प्रतिवेदन अस्वीकार गर्दै अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएका हुन् ।

डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष सीताराम केसीले आयोगलाई दिइएको कार्यादेश (टीओआर) अनुसार प्रतिवेदन नआएको दाबी गर्दै कांग्रेसले त्यसलाई स्वीकार गर्नु नहुने बताए । उनले जाँचबुझ आयोग ऐन २०२६ अनुसार गठन गरिएका आयोगहरूमा परम्परागत रूपमा सरकारी निकटका व्यक्तिहरू संलग्न हुने अभ्यास दोहोरिएको टिप्पणी गर्दै यसलाई अस्वीकार गर्नुपर्ने धारणा राखे ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष मुक्तिराम श्रेष्ठले पनि प्रतिवेदन स्वीकार गर्न नेतृत्वले हिम्मत नदेखाएको भन्दै असन्तुष्टि जनाए । उनले सरकारमाथि निर्दोष नेताहरूलाई फसाउने षड्यन्त्र भएको आरोप लगाउँदै पार्टीलाई कडा अडान लिन आग्रह गरे ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि वर्तमान सरकारले गरेका गतिविधिको छानबिन गर्दै पार्टीले कडा राजनीतिक अडानसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?