काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधान कार्यान्वयनको १० वर्षको अभ्यास महत्त्वपूर्ण रहेको बताएका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरू क्रमशः संस्थागत हुँदै गएको उल्लेख गरे ।
संविधानको मर्म र जनताको चाहना अनुरूप अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै विकास र समृद्धिको यात्रामा सबै राजनीतिक दल र राज्य संयन्त्रलाई एकजुट हुन उनले आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको आवश्यकतामा जोड दिँदै समृद्धिको साझा लक्ष्य हासिल गर्न विगतका गल्तीहरूबाट सिक्दै अगाडि बढ्नुपर्ने बताए । निराश जनशक्तिबाट मुलुकको उन्नति सम्भव नहुने भन्दै आशा जगाउने काम गर्न सरकारलाई उनले सुझाव दिए ।
उनले भने, ‘हामी फुटेर होइन जुटेर, विगतका कटुताबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नुपर्ने खाँचो छ ।’
सार्वभौम संसदले जनताको स्वतन्त्रता, सामाजिक न्याय र सुशासनको चाहना पूरा गर्ने विश्वास पनि राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया