काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा देशको चुनौतीपूर्ण अर्थतन्त्र सुधारका लागि उल्लेखनीय प्रयास गरिएको बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले महासंघको नेतृत्व सम्हाल्दा कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले अर्थतन्त्र कमजोर बनेको बताए । यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल जोगाउने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्न सफल भएको उनको दाबी छ ।
अध्यक्ष ढकालका अनुसार तीन वर्षको कार्यकालमा आर्थिक संकट समाधान, स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, सार्वजनिक–निजी साझेदारी सुदृढीकरण, दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना तथा व्यवसायीहरूको सम्मान र सुरक्षाका मुद्दामा महत्त्वपूर्ण प्रगति भएको छ ।
उनले महासंघको पहलमा राष्ट्रिय आर्थिक बहस आयोजना भई उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भएको, निजी क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा घोषणा गरिएको तथा सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति स्वीकृत गरेको जानकारी दिए ।
यस्तै, द्विपक्षीय लगानी सम्झौता (बीआईए) मस्यौदा तयार भई विभिन्न मुलुकसँग अघि बढाइएको, राज्य र निजी क्षेत्रबीच सहकार्यमा आधारित सम्बन्ध विकास भएको तथा डेडिकेटेड फिडर र ट्रङ्कलाइन महसुल विवादमा मध्यस्थता गरिएको उनले बताए ।
अध्यक्ष ढकालले १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना, साथै भारत, चीन, युएई, कतार र बेलायत लगायत मुलुकमा लगानी सम्मेलन आयोजना गरिएको पनि उल्लेख गरे ।
उनका अनुसार महासंघले परम्परागत मागकर्ताको भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाउँदै सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउने काम गरेको छ ।
साथै, संस्थागत सुधारअन्तर्गत महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रिया थप समावेशी, पारदर्शी र प्रतिस्पर्धी बनाइएको तथा निजी क्षेत्रको योगदानबारे पहिलो पटक अनुसन्धान प्रतिवेदन प्रकाशित गरिएको पनि उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया