दुई दिन बिदा दिने सरकारको निर्णयले पर्यटन क्षेत्रमा के असर पर्छ ?

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदालाई लक्षित गरेर व्यवसायीहरुले प्याकेजहरु ल्याउनुपर्ने बताएका छन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्र्दै उनले दुई दिने सरकारी बिदा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने बताए ।

उनकाअनुसार विगतदेखि नै पर्यटन प्रवद्र्धनका लागि २ दिन बिदा दिन प्रस्ताव गरिएको थियो तर त्यो लागू हुन सकेको थिएन ।

हालको निर्णयले पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सकारात्मक प्रभाव पार्नेछ । नेपालमा पर्यटन पूर्वाधार र हस्पिटालिटी उद्योगमा ठूलो लगानी भइसकेको अवस्थामा यो अतिरिक्त बिदाले ती क्षेत्रमा प्रत्यक्ष सहयोग पुर्‍याउनेछ । आन्तरिक पर्यटक नयाँ गन्तव्यतर्फ आकर्षित हुँदा त्यहाँ नयाँ लगानीको सम्भावना पनि बढ्नेछ, जसले दीर्घकालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन आधार तयार गर्ने उनको भनाइ छ ।

सीईओ जोशीले भने, ‘सरकारले दिएको २ दिने बिदालाई सकारात्मक रुपमा लिनुपर्छ । विगतमा यस्ता अभियान चलाउन पटकपटक सरकारलाई अनुरोध गर्दै आएका थियौँ । यसले एउटा आन्तरीक पर्यटन प्रवद्र्धन ठूलो टेवा दिन्छ । हस्पिटालिटी उद्योगमा धेरै लगानी भइसकेको छ । त्यसका लागि पनि सहयोग पुग्छ । दोस्रो आन्तरिक पर्यटन नयाँ ठाउँमा बढ्नु भनेको त्यसले नयाँ लगानी लैजानु पनि हो । त्यसले नयाँ लैजादै गर्दा त्यसले भविष्यका लागि अन्तराष्ट्रिय पर्यटक आउने बाटो बन्छ ।’

जोशीकाअनुसार अहिलेको शिक्षित तथा बौद्धिक वर्गले समय पाएमा आफ्ना अनुभव र यात्रा आइडिया अरूसँग साझा गर्न सक्नेछन्, जसले समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्‍याउनेछ । साथै, कर्मचारीले परिवारलाई समय दिन नपाउने र सामान्य घरेलु कामसमेत गर्न नसक्दा कार्यक्षमतामा असर पर्ने अवस्था अब सुधार हुने अपेक्षा गरिएको छ । कार्यालय समय व्यवस्थापनमा आएको परिवर्तनले कर्मचारीको सोच र कार्यशैलीमा समेत सकारात्मक परिवर्तन ल्याउने उनको भनाइ छ ।

जोशीले भने– ‘अहिले कर्मचारी, पढे लेखेको जुन बौद्धिक वर्ग छ, उनीहरुले अलिकति समय पाए भने उनीहरुले अरुलाई आइडिया सेयर गर्न सक्छन् । त्यसले गर्दा पनि अरु इकोनोमिक गतिविधिहरु चलायमान बनाउन पनि यसले सघाउ पुर्‍याउँछ । त्यो बाहेक परिवारमा समय दिन नसक्ने, घरका समान्य काम समेत गर्न नभ्याउँदा कर्मचारीलाई सरकारी काममा समेत असर गर्ने गथ्र्यो । अहिले कार्यालय समय बदलिएको छ त्यसले कर्मचारीको माइसेट नै परिवर्तन गर्नेछ ।’

पर्यटन व्यवसायीहरूलाई लक्षित गर्दै उनले सरकारी बिदालाई केन्द्रमा राखेर आकर्षक प्याकेजहरू ल्याए नेपाल पर्यटन बोर्डले प्रवद्र्धन बताए । साथै, सेवा गुणस्तर, आतिथ्यता र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिँदै बोर्डले यससम्बन्धी जनचेतनामूलक भिडियोहरू निर्माण गरिरहेको समेत जानकारी दिए ।

जोशीले भने– ‘आन्तरिक पर्यटन प्रवद्र्धन कसरी गर्नेबारे छलफल भएको थियो । नेपालीहरु नेपालभित्र घुम्ने ४–५ ओटा पर्वमा हो । ती मध्येको अर्को एक अवसर अब बनेको छ । नयाँ वर्ष आसपास, बच्चाबच्चिको विदा हुँदा र चाडपर्वमा नेपालीहरु घुमफिर गर्ने गरेकोमा अब अहिले अब सरकारले दिएको २ दिन बिदामा समेत घुमफिर गर्नसक्ने अवस्था बनेको छ । सरकारी बिदालाई लक्षित गरेर व्यवसायीहरुले प्याकेजहरु ल्याउन हामीले अनुरोध गर्दछौँ । ती क्याम्पेनहरु पर्यटन बोर्डले प्रवद्र्धन गर्छ । पर्यटन सेवामुखी व्यवसाय हो, पर्यटकको संख्या बढ्दै गर्दा सेवा गुणस्तरीय भएन भने त्यसले नकारात्मक असर पार्छ । बोर्डले केही महत्वपूर्ण भिडियोहरु पनि बनाउँदैछ । आतिथ्यता र हाइजीनलाई प्रवद्र्धन गर्न गरी भिडियोहरु बन्ने छ । धेरै ठाउँमा नेपाली पर्यटकहरु घुम्दै जाँदा राम्रो व्यवहार नहुने गरेको पनि देखिन्छ । टे«किङ गर्दा चकलेट, बिस्कुटका कागजहरु फाल्दिने र त्यसले वातावरण प्रदुषण भएको छ, यसका लागि पनि जनचेतना फैलाउनेछौँ ।’

प्रमुख कार्यकारी अधिकृत जोशीले नेपालमा निर्णय र कार्यान्वयन प्रक्रियाको कमजोरीबारे पनि टिप्पणी गर्दै यसपटक नयाँ सरकारले मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित गरी लागू गरेको प्रक्रियालाई उदाहरणीय भएको बताए । यसले अन्य संस्थाहरूलाई पनि छिटो र प्रभावकारी कार्यान्वयनतर्फ प्रेरित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?