बलात्कारको आरोपका ‘बले’ लाई अभद्र व्यवहारमा अनुसन्धान, प्रहरी भन्छ– ‘भ्रम नछरौँ’

लोकपथ
497
Shares

काठमाडौं । एक युवतीले आफूमाथि बलात्कार भएको भन्दै सामाजिक सञ्जालमा लेखेपछि पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बलेलाई चैत २० गते शुक्रबार पक्राउ गरेको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

बलेविरुद्ध कुनै जाहेरी नै नपरेको भन्दै आलोचना भएपछि प्रहरीले उनीमाथि अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।

प्रहरीले यस विषयमा विभिन्न व्यक्ति तथा समाचार एजेन्सीको नाममा सञ्चालित अकाउन्टबाट विभिन्न प्रकारका धारणाहरु आइरहेको भन्दै सत्य तथ्य मात्र संप्रेषण गर्न भनिएको हो ।

‘अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको विषयमा भ्रामक तथा अप्रमाणित सूचना सम्प्रेषण नगर्न तथा नगराउनको लागि सबैमा हार्दिक अनुरोध गरिन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिहीबार एक युवतीले एक वर्ष अघि अमेरिकामा रहेका बखत बलेले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेकी थिइन् । सोही आधारमा प्रहरीले बलेलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?